तपाईँ सुन्दै हुनुहुन्छः

जयनगर–जनकपुर कुर्था रेल सेवा विस्तार गरी बिजलपुरासम्म सञ्चालनको तयारी

जनकपुरधाम  । नेपाल सरकारले जयनगर–जनकपुर कुर्था रेल सेवालाई विस्तार गरेर विजलपुरासम्म सञ्चालन गर्ने तयारीमा जुटेको छ । 

साउन ३० गतेबाट जनकपुरबाट बिजलपुरासम्म सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ । 

राष्ट्रिय गौरवको आयोजना मध्येको एक रेल सेवा जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेकोमा संरचना तयार भएकाले बिजलपुरासम्म सञ्चालन गर्ने तयारी गरेको महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । 

जनकपुरधामको वडा नंं २१ कुर्थादेखि साढे १७ किलोमिटर रेल सञ्चालनको लागि लिक (पटरी) होल्ट, स्टेसनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ ।  १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल–भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी भइसकेको कम्पनीले जानकारी दिएको छ । 

यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकोले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । 

भारतको इर्कान कम्पनीले करिब तीन करोड नेपाली रुपैयाँ लागतमा बिजलपुरा खण्डको रेलमार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको छ । यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिबाससम्म १८ किलो मिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने भएको छ ।

नेपाल सरकारले बिजलपुरादेखि बर्दिबाससम्म रेलको लिकसहित भौतिक पूर्वाधार संरचनाको लागि जग्गा हस्तान्तरण गरेपछि निर्माणको काम सुरु हुने भएको छ । विगतमा मुआब्जामा रहेको विवाद समाधान भएको छ । 

सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समयमा भारत सरकारसँग सम्झौता भएको थियो । 

भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएको भारतीय इर्कान इन्टरनेसनल कम्पनीले सन् २०११ माघदेखि निर्माण सुरु कार्य सुरु गरेको थियो । जयनगरदेखि बर्दिबाससम्म ७० किलोमिटर छ । 

गत वर्ष चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । 

सोही दिनदेखि जयनगर–जनकपुर कुर्थासम्म ३४.९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा ५२.४ किलोमिटरमा पुग्नेछ । बिजलपुरादेखि बर्दिबाससम्म १८ किलोमिटर रेल सञ्चालनको भौतिक पूर्वाधार र लिक निर्माणको काम बाँकी छ ।

रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भंगहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भंगहादेखि बर्दिबाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने गरी काम अगाडी बढिरहेको छ । 

यसअघि न्यारोगेज रेल सेवा पनि जयनगरदेखि कुर्थासम्म सञ्चालनमा रहेको थियो  । 

२०५२ सालको बाढीबाट उक्त संरचना भत्काएपछि निक्कै वर्षसम्म सेवा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button