सुनसरीमा ६५ प्रतिशत मात्र धान रोपाई

सुनसरी । असार १५ यता वर्षा नभएको कारण सुनसरीको विभिन्न स्थानीय तहमा धान रोपाई कम भएको छ ।
नहर पुगेको स्थानमा धान रोपाई सम्पन्न भएपनि नहर नपुगेको र नहर भएर पनि पानी नपुगेको क्षेत्रमा धान रोपाई हुन नसकेको हो ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले रोपाइँको समयमा वर्षा कम भएको र नहर समेत सबै ठाउँमा नभएकाले धान रोपाइँमा ढिलाइ भएको जानकारी दिनुभयो ।
जिल्लाको रोपाई तथ्याङ्क अनुसार असार सुरुदेखि अन्तिमसम्म नहर भएको र नभएको सबै ठाउँमा वर्षा भएका बेला ६५ प्रतिशत मात्र धान रोपाई भएको छ ।
आकाशे पानीको भरमा धान खेती हुँदै आएको देवानगञ्ज, बर्जू, गढी गाउँपालिका, दुहबीको पूर्व कुशाहा, नमुना, र हरिनगर क्षेत्रमा पनि रोपाई कम भएको प्रमुख सिंहले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी योगेन्द्र यादवले विगतमा पनि पानीको अभावमा ढिलाइ गरी रोप्ने गरेकोमा यसपालि भने सन्तोषजनक रोपाई हुन नसकेको बताउनुभयो ।
साउन महिनाको पहिलो साता लाग्दा समेत धान रोपाई ६५ देखि ७० प्रतिशत अर्थात् सन्तोषजनक हुन नसकेको उहाँको भनाई छ ।
तीन साताअघि वर्षा भएको र त्यसपछि बाढी आएकाले रोपाई गर्न समस्या भएकोमा अहिले पानीको अभावले रोपाई गर्न समस्या भएको बर्जूका किसान शम्भु ज्वालाले गुनासो गर्नुभयो ।
यता सिँचाइको असुविधा रहेको ठाउँमा किसान वर्षाको प्रतीक्षामा रहेका र यहाँ साउको दोस्रो हप्ता सम्ममा शतप्रतिशत रोपाई हुने अनुमान कृषि ज्ञान केन्द्रको छ ।








प्रतिक्रिया राख्नुहोस्