आसन्न निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्छ : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ भन्नुभयो । महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।” तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उहाँले स्पष्ट पार्नुभयो ।
आगामी निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्छ भन्नुभयो । निर्वाचन अघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।” न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उहाँको भनाइ छ । “तालमेलमा रहेका दलहरूमा खाली सिटको बाँडफाँट हुने । निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसकेपछि आ-आफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्दो रहेछ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको २०७४ सालको निर्वाचनबाट देखेका छौँ ।” महामन्त्री थापाले भन्नुभयो, “ निर्वाचनमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।”
नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उहाँले बताउनुभयो । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उहाँको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि काँग्रेसलाई बहुमत आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।
फरक प्रसङ्गमा उहाँले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसंवत पार्टी चलाउन आफूहरूको दबाब रहेको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्