तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १४ चौपाया मरे

बझाङ । वर्षा सुरु भएसँगै बझाङका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । 

केदारस्युँ गाउँपालिका–७ भामचौर गाउँमा पहिरोले स्थानीय सिङ्गो धामीको घरमा क्षति पुर्‍याएको स्थानीय रुमला जाग्री धामीले बताउनुभयो । 

गए राति घरमाथिबाट खसेको पहिरोले धामीको एक घर पुरेको छ भने एक घर जोखिममा रहेको छ । उहाँले भन्नुभयो, “बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका दुई वटा घर जोखिममा परेका छन् ।”

पहिरोले घरमा क्षति पुर्‍याएपछि सिङ्गो धामीका परिवार विस्थापित भएर अहिले छिमेकीको घरमा बसिरहेका छन् । 

यस्तै, साइपाल गाउँपालिका–२ धलौनमा गए रातिको वर्षासँगै आएको पहिरोले दलजित बोहराका ६ वटा पशु चौपायासहित गोठ, साइपाल गाउँपालिका–१ जिमाका प्यारु कामीको गाई गोठका-५ पशुचौपाया च्यापिएर मरेको स्थानीय वसन्त बोहराले जानकारी दिनुभयो । 

गाउँमाथिबाट पहिरो खस्न थालेपछि साइपाल गाउँपालिका –२ धलौनका १८ घर र साइपाल गाउँपालिका–३ काँडाका ५ घर पहिरोको उच्च जोखिममा रहेको र केही परिवार पहिरोको डरले विद्यालयमा सरेको समेत बोहराले बताउनुभयो ।

तलकोट गाउँपालिका रुपातोलाका धन कृष्ण खत्रीका खाद्यान्न बोकेर साइपाल गाउँपालिकामा लगेका ३ वटा खच्चड पहिरोले च्यापिएर मरेका छन् भने, १ घाइते रहेको छ । साइपाल गाउँपालिका–२ काँकरकोटमा बाँस बसालेका खच्चड मङ्गलवार राति आएको अविरल वर्षा सँगै आएको पहिराले च्यापिएर मरेका हुन् । अहिले विस्थापित परिवारलाई पाल, प्लाष्टिक, त्रिपाल लगायतको जोहो गर्न लागेको गाउँपालिका अध्यक्ष मान बहादुर बोहराले बताउनुभयो । 

साइपाल गाउँपालिकामा दर्जन बढी भौतिक संरचनामा समेत क्षेत्री भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button