प्रतिनिधिसभाबाट दुई वटा विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई वटा विधेयक पारित गरेको छ ।
बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र “ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७६ सर्वसहमतिले पारित गरेको हो ।
यसैगरी, आजको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश भयो ।
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला (खरेल) ले “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७९” र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७९” पेश गर्नुभएको थियो ।
यसअघि, बैठकमा उपसभामुख पुष्पा भुसाल (गौतम)ले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु भएको थियो ।
यसअघि, विशेष समयमा सांसदहरुले जनसरोकारका विषयहरूमा आ–आफ्ना धारणा राख्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
विशेष समयमा सांसद तिल बहादुर महतले राष्ट्रिय गौरवको आयोजना नवलपुरको धवादी फलाम खानीको काम एक वर्षदेखि ठप्प रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद तेजुलाल चौधरीले संघीय निजामती ऐन चाँडो ल्याउनुपर्ने बताउनुभयो । उहाँले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको रात्रि बस त्रिसुलीमा खस्दा ३३ जनाको मृत्यु र १६ जना घाइते भएको भन्दै उनीहरूले अहिलेसम्म उपचार र क्षतिपूर्ति रकम नपाएको बताउनुभयो ।
सांसद गिरिराजमणि पोखरेलले चुरे क्षेत्र विनाश रोक्न सरकारको ध्यानाकर्षण गराउँदै चुरेको प्राकृतिक स्रोत दोहनका कारण तराई–मधेसको जनजीवन प्रभावित बन्दै गएको बताउनुभयो ।
उहाँले चुरे दोहन रोक्न नसकिए विपत्को सामना मात्र हैन केही वर्षमा नै तराई मधेश क्षेत्र मरुभूमि बन्न सक्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सरलाकुमारी यादवले प्राविधिक शिक्षाका लागि रकमसहित विद्यार्थी बिदेसिएको भन्दै चिकित्सा ऐन संशोधन गरी नेपालमै पढ्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतको फैसला निष्पक्ष बनाउने र यसलाई सैनिक परिसरभन्दा बाहिर राख्नुपर्ने बताउनुभयो ।
सांसद अनिलकुमार झाले देशभरका किसानले आवश्यक सामग्री र मलखाद नपाएको भन्दै त्यसको क्षतिपूर्ति दिन र सांसद क्षेत्र विकास कोषबारे जनतालाई स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
सांसद प्रेम सुवालले नेपाल भारत सीमामा रहेको सीमास्तम्भ भारतीय पक्षले गायब पारेको र नेपाली भूभाग अतिक्रमण गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद निरुदेवी पालले कञ्चनपुरको मजगाँउ विमानस्थलको केही जग्गा नेपाली सेनाको चण्डीदल गणले जग्गा कब्जा गरेको तत्काल भन्दै फिर्ता गरी पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद बहादुर सिंह लामाले पासाङ ल्हामूमार्गको काम विगत १० वर्षदेखि नसकेको भन्दै चाँडो अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गजेन्द्र बहादुर महतले सदन र सडकले खोजी गरेको एम अधिकारी टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।
सांसद राज बहादुर बुढाले दैलेखको गुराँस गाउँपालिकामा गोली चल्ने गरी भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गर्नुभयो ।
सांसद राजेन्द्र कुमार केसीले विशेष समय र शून्य समयमा सांसदहरुले उठाएको विषयको कही कतै सुनुवाई नभएको भन्दै सभामुखमार्फत रुलिङ गर्न माग गर्नुभयो ।
सांसद आशा कुमारी विकले बझाङ जिल्लामा गएको बाढी पहिरोका कारण सदरमुकामसम्म आवतजावत गर्न असुविधा भइरहेको भन्दै भएका सडक गुणस्तरहीन भएका कारण हप्ता दिनमा नै भत्कने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद नरबहादुर थामीले सुदूरपश्चिमलाई संघीय सरकारले भेदभाव गरेको भन्दै वर्तमान सरकारले कैलालीको गेटा मेडिकल विश्वविद्यालय बनाउन आनाकानी गरिरहेको धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्