तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना बढ्न थालेपछि भिडभाडमा नजान र बुस्टर डोज लगाउन आग्रह

भद्रपुर, झापा । झापा जिल्लामा पुनःकोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको छ ।  

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित बढेसँगै त्यसको असर सीमा नाकासँग जोडिएको झापामा देखा पर्न थालेको हो । 

जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)–ले झापावासीलाई सचेतना अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा कोरोना संक्रमण फेरि बढ्न थालेकोले भिडभाडमा नजा र बुस्टर डोज नलगाएकाहरूलाई तुरुन्तै बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

बैठकले मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हँडिया खोलानजिकै २८ करोड २६ लाख ८७ हजार ४६४ रुपैयाँ लागतमा निर्माणाधीन एक हजार जना क्षमताको होल्डिङ सेन्टरमा तत्काल कम्तीमा एक सय बेड तयारी अवस्थामा राख्न, काँकडभिट्टास्थित प्रवेश नाकामा मेचीनगर नगरपालिका, इडीसिडी, आइएमओ र रेडक्रस सोसाइटी झापा शाखाले आपसमा समन्वय गरी कोरोना परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

त्यस्तै, स्वास्थ्य कार्यालयले कोरोना सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधी, मास्क, परीक्षण गर्ने किट, भिटिएस लगायतका अन्य सामग्रीहरूको मौज्दात व्यवस्थापन गर्न÷गराउन अनुरोध गर्ने, स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन बाँकी सबैलाई अनुरोध गर्ने, कोरोना संक्रमणदर बढिरहेकोले मास्क लगाएर मात्र हिँड्न, सङ्क्रमणको शङ्का भएमा स्वास्थ्य संस्थामा गई परीक्षण गर्न अनुरोध गर्ने र सबै स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्य कार्यालय, रेडक्रस लगायत गैरसरकारी सङ्घ संस्थाहरूले कोरोना संक्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्ने निर्णय गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।  

स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार गत असार १९ गतेसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेकोमा असार २० गतेदेखि साउन २ गतेसम्ममा जिल्लामा ७५ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

सोमबार ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताउनुभयो । 

संक्रमण पुष्टि भएकाहरूमा भारतबाट नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या बढी रहेको पनि घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button