तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक अधिकार सुनिश्चितता नै मुख्य काम: मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मुक्तकमैया, कम्लहरी र हरुवा चरुवा परिवारको सामाजिक, आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्न मन्त्रालय लागिपरेको बताउनुभएको छ ।

कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजना भएको कार्यक्रममा मन्त्री श्रेष्ठले नागरिकको जिउ धन र स्वतन्त्रताको संरक्षण गरी नागरिक अधिकार सुनिश्चितता नै आफ्नो मुख्य काम रहेको उल्लेख गर्नुभयो ।

सामाजिक न्यायका माध्यमबाट हाल समाजमा रहेको विद्यमान धर्म संस्कार, मूल्य, मान्यता, प्रथा, परम्परा लगायत कुनै पनि आधारमा हुने विभेद, शोषण र अन्यायको अन्त्य गरी समुन्नत समाज निर्माणमा पनि मन्त्रालयको जोड रहेको उहाँले बताउनुभयो ।

संविधानको व्यवस्थाअनुरूप नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लागि सरकारले राष्ट्रिय भूमि आयोगमार्फत संविधान प्रदत्त हक अधिकारको कार्यान्वयनका लागि कार्य अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी गराउनुभयो ।

कार्यक्रममा मुक्तकमैया, कम्लहरी, हलिया र हरुवा चरुवाको वस्तुस्थितिको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । प्रतिवेदनअनुसार जमिन पाउन योग्य ठहरिएका वा परिचयपत्र प्राप्त गरेका २७ हजार ५७० कमैया परिवारमध्ये हालसम्ममा २५ हजार १९५ ले मात्र जमिन प्राप्त गरेको बताइएको छ ।

परिचयपत्र पाउन योग्य चार हजार ४६३ कमैया परिवारले पुनः स्थापनको काम थालिएको डेढ दशक हुन लाग्दासम्म परिचयपत्र पाउनबाट वञ्चित हुन परेको संविधानसभा सदस्य एवं अध्ययन कार्यदलका संयोजक श्याम श्रेष्ठले जानकारी गराउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button