तपाईँ सुन्दै हुनुहुन्छः

‘धौवादीमा १ करोड २७ लाख टन फलामको धाउ’

नवलपरासी । नवलपरासीको धौवादीमा रहेको फलाम खानी क्षेत्रमा अगामी ४० वर्षका लागि उत्खनन गर्न पुग्ने १ करोड २७ लाख टन फलामको धाउ रहेको पछिल्लो एक अध्ययनले देखाएको छ ।

धौवादी फलाम कम्पनीले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनले त्यस्तो तथ्य पत्ता लगाएको हो ।

धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा.जनकबहादुर चन्दले पहिलो भन्दा पछिल्लो अध्ययनले २७ लाख टन बढी फलामको धाउ रहेको पत्ता लगाएको जानकारी दिनुभयो ।

फलाम खानी सञ्चालनमा आएपछि त्यहाँबाट दैनिक १५ सय टन फलाम उत्पादन हुने र त्यसको लागि १ सय २५ मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । फलाम उद्योग सञ्चालनमा आएपछि नेपालले हाल भोग्नुपरेको व्यापार घाटा करिब १५ देखि २० प्रतिशतले कमी आउने पनि देखिएको छ ।

धौवादी फलाम उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा नेपालको अर्थतन्त्रमा करिब ३ देखि ४ प्रतिशतको योगदान रहने पनि अनुमान गरिएको छ । उद्योग सञ्चालन भएपछि करिब ३ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १२ सय जनाले रोजगारी प्राप्त गर्ने प्रमुख कार्यकारी अधिकृत चन्दले बताउनुभयो ।

यो अध्ययनको प्रतिवेदन केही दिनमा सार्वजनिक गरी आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने तयारी पनि कम्पनीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button