तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकको सहयोगले बाख्रा पालनमा रमाएका डाडाँडुमका स्थानीय

पाल्पा । तानसेन नगरपालिकाको युवा स्वरोजगार कार्यक्रम अन्तरगत बाख्रा मिसन कार्यक्रमले तानसेन नगरपालिक–९ डाडाँडुमका स्थानीयको दैनिकी फेरीएको छ । बिदेश गएर स्वदेश फर्कका तथा अन्य ब्यबसाय गर्ने युवाहरु गाउँठाउमै बाख्रा पालनमा लागेका छन् ।

सिकर्मी काम छाडेर बाख्रा पालनमा लाग्नुभएका बुद्ध सार्की
पाल्पाको साबिक ख्याहा गाबिसको कराम्दीमा आजभन्दा करिब ४९ बर्ष अगाडी जन्मिनुभएका बुद्ध सार्की बिगत १० बर्षदेखि तानसेन नगरपािलका–९ डाडाँडुम तिलाहारमा बस्नुहुन्छ । ख्याहामा काम तथा रोजगारीको अवसर नपाएपछि उहाँ २०६९ सालमा आफ्नो १० जनाको परिवार लिएर तानसेन–९ मा आउनुभएको हो । ख्याहामा सिकर्मीको कामले जीवन चलाउन समस्या झेल्नुभएका सार्की दिदीको सल्लाह बमोजिम तानसेन–९ डाडाँडुम आउनुभयो ।

डाडाँडुममा उहाँले आफैले १८ रोपनी जग्गा किनेर केही बर्ष तरकारी खेती गर्नुभयो । तरकारी खेतीबाट आम्दानी राम्रौ भएपनि तरकारी खेती गर्दा बिषादीको प्रयोग नगरी उत्पादन राम्रो नहुने भएकाले केही बर्षसम्म सामान्य बिषादीको प्रयोग गरेर तरकारी खेती गर्नुभयो । तर तरकारीमा प्रयोग हुने बिषदीले उहाँको स्वास्थ्यमा असर पारेको उहाँ बताउनुहुन्छ । बिषादीले उहाँमा रिङ्गटा लाग्ने, वान्ता हुने जस्ता समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । बिषादीले स्वास्थ्यमा असर गरेपछि उहाँ अर्गानिक तरकारी खेतीतर्फ लाग्नुभयो । केही समय अर्गानिक तरकारी खेती गरेपनि उत्पादन राम्रो नभएपछि अर्गानिक तरकारी खेती गर्ने प्रयास सफल नभएको उहाँको अनुभव छ ।

तरकारी खेतीबाट सोचेजस्तो सफलता नपाएपछि उहाँले करिब डेड बर्ष अगाडीबाट बाख्रा पालन सुरु गर्नुभयो । तानसेन नगरपालिकाको सहयोगले उहाँको खोरमा अहिले ४० वटा उन्नत जातका बाख्रा छन् । सिकर्मी कामको ज्ञान भएका बुद्ध आफैले ६ लाख लगानी गरेर दुई वटा खोर निर्माण गर्नुभएको छ । खोर र बाख्रा गरेर ८ लाखको लगानी भएको उहाँले सुनाउनुभयो ।

उहाँले तानसेन नगरपालिकाबाट ४० हजार नगद तथा १ लाख २५ हजार बराबरको बोयर जातको बोका पाउनुभएको छ । भने बाख्रामा लाग्ने रोगको बारेमा जानकारी तथा खोरमै प्राबिधिक सहयोग पाउनुभएको छ ।

“अनुदानमा बाख्रा ,बोका मात्र पाएर के गर्ने, रोग लागेर बाख्रा सखाप हुन्छन् । उचित उपचार तथा रोग सम्बन्धी ज्ञान नभए त कामै छैन । धन्न रेडाका सरहरुलाई फोन गर्ने बित्तिकै खोरमै आएर उपचार र प्राविधिक सहयोग गर्नुहुन्छ । त्यसैले यी बाख्राहरु स्वस्थ छन् ।” बुद्ध सार्कीले भन्नुभयो ।

सार्कीले बारीमा सुपर नेपियर, मुलाजु, भट्टे, मकै चरी जस्ता उन्नत जातका घाँस लगाउनुभएको छ । उहाँले औषधी उपचार तथा प्राबिधिक सहयोग पाएको बताउनुभयो । आफुसँग भएका सबै बाख्राको बीमा रहेको, दुई वटा माउ तथा १६ वटा पाठापाठी मरेकोमा बीमाबाट क्षतिपूर्ती पाएको उहाँले बताउनुभयो । उत्पादित बाख्राको लागि बजारको समस्या नभएको उहाँले बताउनुभयो । बाख्राको मूल्य निर्धारण तिनपिल्ले बहुउद्देश्यीय स्वाभलम्बि समूहले गर्ने गर्दछ ।

उहाँले निर्वाहमुखी खेती तथा पशु पालनबाट व्यावसायिक पशु पालनमा लाग्न र लगानी थप्नका लागि तानसेन नगरपालिका, हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघ (रेडा) सँगको समन्वयमा कृषि अनुदान कर्जामार्फत ३ दशमलब ५ प्रतिशतमा ११ लाख कर्जा लिनुभएको छ । जसमध्ये उहाँले महिनाको २० हजारका दरले ७ किस्ता साँवा र ब्याज गरि बुझाई सक्नुभएको छ । प्रत्येक महिना किस्ता तिर्दा किस्ताको रकमको दर समेत कम हुँदै जाने भएकाले अबको करिब ४ बर्षमा सम्पूर्ण लगानी आफ्नो हुने उहाँमा बिश्वास छ ।

बिदेशबाट फकर्नुभएका सुन्दर राना
परम्परागत बाख्रा पालन गर्नुभएका तानसेन ९ तिलाहार खरकका सुन्दर राना अहिले व्यवसायिक पशु पालनमा लाग्नुभएको छ ।

आफ्नो गाउँ ठाउँमा रोजगारीको अवसर नदेखेर कामसँगै दामको खोजीमा ४ बर्ष युएई र एक बर्ष मलेसियामा रगत र पसिना बगाउनुभएका राना आफ्नै गाउँ घरमा अब केहि गर्नुपर्छ भन्ने सोचले परम्परागत पशुपालन अन्तरगत बाख्रा पालन गर्न थाल्नुभयो । रानाले अहिले आफ्नै पशु फर्म नै संचालन गर्नुभएको छ । बिदेशको सुख र दुखको अनुभव गर्नुभएका राना आज भोली कृषि कर्ममा रमाउनुभएको छ ।

बिदेशमा कमाएको केही रकम लिएर घर फर्किनुभएका राना आफ्नै घरमा बाख्राको खोर बनाएर परम्परागत रुपमा बाख्रा पाल्न लाग्नुभयो । परम्परागत रुपमा बाख्रा पाल्दा रोगको डर हुने तथा स्थानीय जातका बाख्राले राम्रो उत्पादन नदिने भएकाले उहाँको व्यवसाय सफल हुन सकेन ।

जब उहाँले तानसेन नगरपालिकाबाट सहयोग पाउनुभयो उहाँमा आधुनिक कृषि तथा व्यवसायीक कृषिको धारणा बिकास भयो । उहाँले तानसेन नगरपालिकाबाट ४० हजार तथा १ लाख २५ हजार बराबरको बोयर बोका पाउनुभएको छ ।

नगरपािलका उहाँले पनि अरुले बाख्रामा लाग्ने रोगको बारेमा जानकारी, खोरमै औषधी तथा प्राविधिक सहयोग पाइराख्नुभएको छ जसले गर्दा उहाँले आधुनिक खोर तथा नश्ल सुधार गरिएका ६० वटा बाख्रा पाल्नुभएको छ ।

बाख्रा पालनबाट मात्रै उहाँले बार्षिक १० लाख आम्दानी गर्दै आइरहनुभएको छ । तानसेन नगरपालिकाको सहयोगमा साढे ३ प्रतिशत ब्याजमा तानसेनस्थित नेपाल बैंक लिमिटेडबाट ९ लाख ऋण पाउदा ऋण बापतको रकम सित्तैमा पाएजस्तै भएको उहाँ बताउनुहुन्छ । उहाँले ऋण बापतको २४ किस्ता बैंकमा बुझाई सक्नुभएको छ ।

काम गर्ने इच्छाशक्ति, सोच र जाँगर भएका युवाहरु दूई चार पैसा कमाउनकै लागि बिदेश नै जानुपर्दछ भन्ने मान्यतालाई उहाँले तोड्दै युवा पुस्तालाई बिदेशको मोहलाई छोडेर आफ्नै देशमा कृषि कर्ममा लागे स्वदेशमै रोजगारीको अवसर पाउन सकिन्छ भन्ने प्रेरणाको रुपमा राना र सार्कीलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button