निजगढ विमानस्थलको काम तत्काल सुरु गर्न माग
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय समन्वय समितिको आजको बैठकमा निजगढ विमानस्थल निर्माण कार्य तत्काल सुरु गर्न माग गरिएको छ ।
समितिको सिंहदरबारमा आज बसेको बैठकमा समितिका सदस्यहरुले विमानस्थल निर्माणका लागि स्रोत सुनिश्चितता गरी छिटो कार्य अगाडि बढाउन सरकारसँग माग गर्नुभएको हो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्मको कार्य विवरण प्रस्तुत गर्नुभयो ।
उहाँले हालै निजगढ विमानस्थलको सम्बन्धमा सर्वोच्च अदालतबाट आएको परमादेश बमोजिम विज्ञ समूह गठन गरी विमानस्थल निर्माण सुरु गरिने जानकारी गराउनुभयो ।
बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सर्वोच्च अदालतले हालै गरेको निर्णयले विमानस्थल निर्माणमा कुनै अवरोध नहुने भन्दै सम्पूर्ण बाधा अवरोध हटाएर यथाशीघ्र काम सुरु गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।
बैठकमा समिति सदस्य देव प्रसाद तिमिल्सिना, भीम रावल, राम कार्की, दिपक भट्ट लगायतका सदस्यहरुले निजगढ विमानस्थलको सर्वेक्षण हुँदा भैरहवा र पोखरा एयरपोर्टको चर्चा नभएको भन्नुहुँदै अन्य विमानस्थलहरू प्रयोगमा आइसक्दा पनि निजगढ एयरपोर्ट निर्माणमा ढिलाइ हुनुको कारण सरकारले नागरिकलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
उहाँहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वातावरणसँग सम्बन्धित विज्ञ हुँ भन्नेहरू र भुमाफियाका कारण अवरोध हुने गरेको भन्दै विकास निर्माणमा अवरोध गर्नेहरूलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले राष्ट्रिय महत्त्वका आयोजनाहरू बनाउँदा राजनीतिक दलको साझा प्रतिबद्धता नभएसम्म विकासका कुनै पनि ढोका नखुल्ने भन्दै यसप्रति दलहरू संवेदनशील बन्नुपर्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्