तपाईँ सुन्दै हुनुहुन्छः

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तत्काल पास गर्न सांसदहरूको माग

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताउनुभएको छ । 

योगमाया आयुर्वेद  विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा दफावार छलफल गर्न  संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले विधेयक प्रतिनिधिसभाको समयावधि भित्रै टुङ्ग्याउने गरी अघि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो  । 

योगमायाले सङ्घर्ष र साधना गरेको स्थान केन्द्रित गरेर योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गरिने र आवश्यकता अनुसार प्रदेश स्तरमा पनि विश्वविद्यालय खोल्न सकिने गरी विधेयक ल्याइएको जानकारी गराउनुहुँदै मन्त्री पौडेलले तत्काल समितिबाट विधेयक पास गर्न सांसदहरूलाई आग्रह गर्नुभयो । 

बैठकमा पूर्व शिक्षा मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले विश्वभरि फैलिएको कोरोना महामारीपछि आयुर्वेद चिकित्साको महत्त्व बढेको बताउनुभयो । 

त्यसैगरी, नेकपा एमालेका सांसद योगेश भट्टराईले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनापछि नेपालमा योग पर्यटनको विकास हुने बताउनुभयो । 

त्यसैगरी, सांसदहरू चित्रलेखा यादव, मीनबहादुर विश्वकर्मा, अञ्जना विशंखे, सरिता न्यौपाने लगायतले तत्कालीन समयमा महिलालाई शिक्षा स्वास्थ्य र अवसरमा सहभागिताको माग राखी विद्रोह गर्ने योगमायाका अनुयायी बढ्दै गएजस्तै योगमाया विश्वविद्यालय स्थापना भएपछि नेपालमा आयुर्वेद शिक्षाको अध्ययन गर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि आउने प्रचुर सम्भावना रहेको विचार व्यक्त गर्नुभयो । 

बैठकमा अधिकांश सांसदहरुले आयुर्वेद शिक्षा प्रणाली अहिलेको आवश्यकता रहेकाले विश्वविद्यालय ऐन तत्काल पास गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button