जिल्ला प्रशासन कार्यालयमा सयौँको भिडभाड, राति पनि सेवा प्रवाह
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा हाल दैनिक ३ सय बढी सेवाग्राहीको भिड लाग्ने गरेको छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, संस्था दर्ता तथा नवीकरण लगायतका सेवा लिने सेवाग्राहीको भीड लाग्ने गरेको हो ।

प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा भिड थेग्नै मुस्किल हुने गरेको छ । विगतमा कोरोना महामारीका बेला केही समय सेवा अवरुद्ध भएकाले समेत अहिले भीड भएको हो ।
केही समयअघि भने भिडभाड र कोरोनाको प्रभावका कारण हप्ताका बार अनुसार फरक स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइएको थियो । बढी सेवाग्राही आएका कारण सेवा पाउन ढिलाइ हुँदा केही सेवाग्राहीहरू प्रशासनको बरन्डामै सुतेको पाइन्छ भने, केही सेवाग्राही लाइनमा ठेलमठेल गरिरहेका हुन्छन् ।

प्रशासकीय अधिकृत भारतीले कार्यालयमा २३ जनाको दरबन्दी रहे पनि हाल १६ जना मात्रै रहेको जानकारी दिनुभयो । २३ जना कर्मचारीको पदपूर्ति भए सबै असहजता हट्ने उहाँको भनाई छ ।
कर्मचारी पदपूर्तिका लागि पटक पटक माग गरे पनि कर्मचारी पाउन नसकेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । मुस्किलले एक जना कर्मचारी थप गर्न सकेको उहाँले बताउनुभयो ।
सेवाग्राहीको चाप बढ्दा कहिलेकाहीँ राति ९ बजेसम्म पनि सेवाग्राहीलाई सेवा दिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्