नेपाली कांग्रेस पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश
बीरगंज । नेपाली कांग्रेस पर्साले आज पर्सा जिल्लाका आम नागरिकहरूले भोगिरहेका समस्याका बारेमा ६ बुँदे माग राख्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा कांग्रेस कार्यकर्ताहरूले आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी उमेश ढकाल मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ६ बुँदे समस्या समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा आगामी सङ्घीय तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्यमा जनशक्ति कम भएको हुँदा आवश्यक जनशक्तिको व्यवस्था गरी प्रत्येक गाउँ र वडा स्तरमा नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने व्यवस्था मिलाउनुपर्ने, कृषि प्रधान देशमा रासायनिक मलको अभाव हुँदा किसानहरू समस्यामा परेको अवस्थामा अविलम्ब रासायनिक मल उपलब्ध गराउन पर्सा काँग्रेसले माग गरेको छ ।
त्यसैगरी पर्साको जिराभवानी गाउँपालिकामा रहेको ईलाका प्रशासन कार्यालय सुपौलीमा जनशक्तिको अभाव हुँदा सेवाग्राहीले सास्ती भोग्दै आएकोले आवश्यक जनशक्तिको व्यवस्था मिलाई दिनहुँ सेवा प्रवाह गर्नुपर्ने, पर्साको ग्रामीण सदरमुकामको रुपमा रहेको पोखरीयामा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने, असारमा खडेरी पर्दा किसानहरू निराश भएको अवस्थामा नारायणी सिँचाई व्यवस्थापन कार्यालयले हालसम्म नहरमा पानी सञ्चालन नगर्दा किसानहरू पीडित भएको हुँदा तत्काल पानी सञ्चालन गर्न काँग्रेसले माग गरेको छ ।
ज्ञापन पत्रमा वीरगञ्ज ठोरी हुलाकी सडकमा दिनहुँ सवारी दुर्घटना भइरहेको र यात्रुहरूको सुरक्षा खतरा रहेको हुँदा सो सडकको गण्डक नहर चोक नवरंगिया पुलनिर प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पर्सा काँग्रेसले उठाएको माग तत्काल सम्बन्धित निकाय समक्ष पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्