तपाईँ सुन्दै हुनुहुन्छः

करारका कर्मचारीको म्याद नथप्दा पाँच स्वास्थ्य संस्था बन्द

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले साउन १ गतेदेखि करारको कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि नेचासल्यान अस्पतालसहित पाँच स्वास्थ्य संस्था बन्द भएका छन् । 

करारको कर्मचारीबाट मात्र सञ्चालनमा रहेको नेचासल्यान अस्पताल बन्द भएको हो ।

अस्पताल सञ्चालक समितिका उपाध्यक्ष दोमराज बास्तोला र डा.अमनकुमार शाहले सूचना जारी गर्दै करार कर्मचारीको म्याद थप नहुने भएपछि अस्पताल बन्द रहने जानकारी गराउनुभएको छ । 

कोभिड अस्पताललाई नेचासल्यान अस्पतालमा परिणत गरी सञ्चालित अस्पतालमा एक चिकित्सकसहित दुई अहेव, एक अनमी, एक ल्याब असिष्टेन्ट र दुई कार्यालय सहयोगी कार्यरत थिए ।

त्यस्तै, नेचासल्यान १, ४, र ५ मा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि अर्को व्यवस्था नहुन्जेलसम्म बन्द रहनेछ । ती स्वास्थ्य सेवा केन्द्रमा एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी कार्यरत थिए । एक अहेव र एक कार्यालय सहयोगीको भरमा सेवा प्रवाह गर्दै आएको सामुदायिक स्वास्थ्य इकाई पनि बन्द भएको छ ।

एक चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी करारमा कार्यरत रहेको सल्यान प्राथमिक स्वास्थ्य केन्द्र सल्यानले अत्यावश्यक सेवा (ओपिडी र प्रसूति) बाहेकका सेवा बन्द गर्ने भएको छ । पाँच जना मात्र स्थायी स्वास्थ्यकर्मी रहेको स्वास्थ्य केन्द्र जनशक्तिको अभाव देखाउँदै सेवामा कटौती गरेको हो । 

म्याद थप नगर्ने पालिकाको निर्णयसँगै वरडाँडा स्वास्थ्य चौकीमा एक अहेव र वेतघारी स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगीसहित स्वास्थ्य क्षेत्रमा मात्रै २७ जना करारका स्वास्थ्यकर्मी स्वतः हटेका छन् । जसको प्रभाव स्वास्थ्य सेवा प्रवाह देखिएको हो ।

करारको कर्मचारी हटाउने पालिकाको निर्णय फिर्ता लिन नेपाल निजामती कर्मचारी सङ्गठन नेचासल्यानले माग गरेको छ । अध्यक्ष युवराज शर्माले विज्ञप्ति जारी गर्दै करारको कर्मचारीको म्याद नथप्ने पालिकाको निर्णय अलोकतान्त्रिक भएको भन्दै निर्णय फिर्ता लिएर उचित व्यवस्थापनका लागि माग गरेको छ ।

करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय लिएको नेचासल्यान गाउँपालिकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । नेचासल्यान उपाध्यक्ष विना राईले रिक्त पदपूर्तिका लागि यथाशीघ्र भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button