तपाईँ सुन्दै हुनुहुन्छः

सरकार मिडियाको बहुलवादप्रति सदैव प्रतिबद्ध : मन्त्री कार्की (भिडियो)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मिडियाको बहुलवादप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । 

आज राष्ट्रिय समाचार समितिको श्रव्यदृष्य सेवाको शुभारम्भ समारोहमा मन्त्री कार्कीले आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने हुँदा आलोचनात्मक व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो ।

कार्कीले सङ्घीयताको मर्मअनुसार केन्द्रीकृत नभई विकेन्द्रित भएर प्रदेश र स्थानीय तहका साना लगानीका सञ्चारमाध्यमका लागि समाचार सामग्री उत्पादन र वितरणमा राससले आफूलाई अब्बल बनाउनुपर्ने पनि बताउनुभयो । 

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारको दुनियाँमा राससले श्रव्य दृश्य सेवा सुरु गरेसँगै समिति पत्रकारितामा नयाँ आयाम थपिएको बताउनुभयो । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले समयको मागअनुसार राससले सेवा विस्तार गरेर राम्रो सुरुवात गरेको बताउनुभयो । 

त्यस्तै, राससमा २२ वर्ष सेवा गर्नुभएका वरिष्ठ पत्रकार भैरव रिसालले रासस समाचार उत्पादनको विविधीकरणतर्फ लागेकामा खुसी व्यक्त गर्नुभयो । 

समारोहमा राससका अध्यक्ष धमेन्द्र झाले आम जनतालाई सुसूचित गर्न रासस सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । 

त्यस्तै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले  समाचार समितिका रुपमा राससले नेपाली, अङ्ग्रेजी समाचार, फोटो र अडियो भिडियो सेवामार्फत नेपालको पत्रकारितामा सहयोग पुर्‍याउँदै आएको बताउनुभयो  । 

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल टेलिभिजनका अध्यक्ष समीर जङ्ग शाहलगायतको उपस्थिति रहेको थियो । 

पञ्चायतकालमा राससले विभिन्न जिल्लाबाट भिडियो खिचेर नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो भने पछि टेलिभिजनहरूको विकास र विस्तारसँगै उक्त सेवा बन्द भएको थियो ।

राससले एक महिनासम्म परीक्षण अवधिका रुपमा निःशुल्क रुपमा भिडियो सेवा उपलब्ध गराउने जनाएको छ ।

सरकार मिडियाको बहुलवादप्रति सदैव प्रतिबद्ध : मन्त्री कार्की (भिडियो)  

प्रतिक्रिया राख्नुहोस्

Back to top button