दुवैतिर खोला बीचमा पुल, डुङ्गाको भरमा आवतजावत

विराटनगर । मोरङ र झापा जिल्लालाई जोडने रतुवा खोलाको पुल खोलाको मापदण्ड अनुसार नबन्दा पुल बनेको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
खोलाको लम्बाई अनुसार पुल नबन्दा अहिले पुल खोलाको बीचमा छ भने पुलको पूर्व पश्चिम दुवैतिर भँगालो भएर खोला बगिरहेका छ । पुलको दुवैतर्फ भगांलोमा खोला बग्न थालेपछि पुल प्रयोग विहीन भएको छ ।
पुल प्रयोग विहीन भएपछि मोरङ र झापा जिल्लाका नागरिकहरूलाई खोला तर्न दुवै भँगालोमा दुई वटा डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

निमार्ण भएको ९ वर्ष बितिसक्दा पनि पुल सञ्चालनका लागि कसैले चासो नदिँदा आवतजावतमा समस्या भएको स्थानीयको गुनासो छ ।
रतुवामाई नगरपालिका– १ कल्याणपुरका लक्ष्मीप्रसाद खडकाले खोलाको बीचमा बनाइएको पुल सञ्चालनका लागि कसैले पनि चासो नदिँदा मोरङ र झापा जिल्लाका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको बताउनुभयो । आफूले देखेदेखि पुलको मात्र नभएर पुल जोडने पश्चिम तर्फको सडकको समेत अवस्था उस्तै समस्या रहेको उहाँको भनाई छ ।
त्यस्तै सोही ठाउँका मिना खडकाले आफ्ना इष्टमित्र सबै झापा तिर भए पनि खोलामा बाढी आउँदा त्यहाँ पुग्न नसक्ने भएकाले चाँडै पुल सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो ।

करोडौँ रुपैयाँ लगानीमा बनाइएको पुल प्रयोग विहीन हुँदा सर्वसाधारण खोला वारपार गर्दा एक जनाको डुङ्गामा २० रुपैयाँ, मोटरसाइकलसहित ५० रुपैयाँ र साइकलसहित एक जानको ३० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको छ ।
खोलामा ठुलो बाढी आउँदा डुङ्गा समेत चल्ने अवस्था हुँदैन । खोलामा ठुलो बाढी आउँदा डुङ्गामा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको झापा गौरादह नगरपालिका–८ का विजेन्द्र ताजपुरियाको भनाई छ ।
“ठुलो बाढी आउँदा ड्रमको डुङ्गा बनाएर त्यसलाई डोरीले बाँधेर तान्ने गरेकाले त्यो आफैमा कतिको जोखिम हुन्छ सहज बुझ्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यस कारण पनि पुल चाँडै सञ्चालन हुनुपर्छ ।”

भारतका फुलवरियाको पुल र रतुवा खोलाको पुलसँगै निमार्ण सुरु भएको र फुलवरियामा बनेको पुल सञ्चालनमा आई पुरानो भइसकेको छ भने रतुवा खोलाको पुल अहिलेसम्म सञ्चालन नहुनु दुखको कुरा भएको उहाँले बताउनुभयो ।
विराटनगरदेखि झापाको भद्रपुर जोडने उक्त पुल सञ्चालनमा ल्याउन सके आवतजावतमा सहज हुने र दुवै जिल्लामा आर्थिक गतिविधि बढ्ने निश्चित छ । हुलाकी राजमार्गको मेरुदण्डको रुपमा रहेको उक्त पुलले दुवै क्षेत्रको नागरिकहरूको भाग्य भविष्य जोडिएको छ ।
रतुवामाई नगरपालिका ४ का नरेन्द्र प्रसाद गुरागाईँले पुलमा यत्रो ठुलो लगानी गरेर पुल सञ्चालन नहुँदा विकासमा अवरोध सृजना भएको बताउनुभयो ।
पुल सञ्चालन हुने हो भने झापाको भद्रपुरबाट मोरङको विराटनगर डेढ घण्टामा पुग्न सकिन्छ तर लामो समयदेखि पुल अलपत्र अवस्थामा रहँदा अहिले यहाँका नागरिकहरू भारतको फुलवरियामा रहेको पुलको प्रयोग गरेर गौरिगन्जलगायत झापाको विभिन्न ठाउँमा पुग्ने गरेको उहाँको भनाई छ ।
रतुवा खोलाको पुल सञ्चालनका लागि यहाँका पालिकाहरूले पटक पटक आग्रह गरे पनि धेरै बजेटको आवश्यकता पर्ने भएकाले सुनवाइ हुन सकेको छैन ।

रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंहले आफु पालिकाको प्रमुख हुनु अघिदेखि पुल सञ्चालनका लागि सम्बन्धित निकायमा पटक पटक पहल गर्दा पनि चासो नदिएको गुनासो गर्नुभयो ।
रतुवामाइको महादेवा चौकी घाटदेखि खोला सुरु हुने भएकाले पुलको लम्बाई बढाउँदै चौकी घाटसम्म तार जाली सहितको दिगो तटबन्ध बनाउन सके पुल सञ्चालनमा ल्याउन सकिने उहाँको भनाई छ ।
खोलामा आउने बाढीले निरन्तर कटान गर्ने गरेकाले पुल खोलाको बीचमा पुगेको र खोलाले धार परिवर्तन गरी पुलको पूर्व पश्चिम भएर बग्न थालेको स्थानीय बताउँछन् ।









प्रतिक्रिया राख्नुहोस्