सैनामैनामा लालपूर्जा नभएका जग्गाको नापजाँच सुरु
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ ।

सैनामैना नगरपालिका–१ बाट जग्गा नापजाँचको सुरुवात गरिएको हो । जग्गा नापजाँचको सुरु गर्दै नगर प्रमुख फणीन्द्रप्रसाद शर्माले सैनामैनाका सबै सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सैनामैनाको सुकुम्बासी समस्या समाधान गर्न संविधानतः सरकारले एक पटकका लागि सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने बताउनुभयो ।
नगर प्रमुख शर्माले आफ्नै कार्यकालमा सबै भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि आयोगलाई आवश्यक पर्ने सबै सहयोग गर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले पनि भनाई राख्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्