तपाईँ सुन्दै हुनुहुन्छः

वातावरणीय प्रदूषण कम गर्न हरेक टोल टोलमा वृक्षारोपण गर्नुपर्ने : मन्त्री यादव 

बीरगंज  । वन तथा  वातावरण मन्त्री प्रदीप यादवले स्थानीय तहको समन्वयमा बीरगंजसहित देशका प्रमुख सहरी क्षेत्रलाई हराभरा बनाउनका लागि वन तथा वातावरण मन्त्रालय ठोस कार्यक्रमका साथ अगाडी बढ्न लागेको बताउनुभएको छ । 

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर र राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति भरतपुर चितवनको संयुक्त आयोजनामा बीरगञ्जको आदर्श नगरमा सुरु गरिएको वृक्षारोपण तथा चौतारा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले वातावरणीय प्रदूषण कम गर्न हरेक टोल टोलमा वृक्षारोपण गर्नुपर्ने बताउनुभयो  ।

वातावरण तथा पर्यावरण जोगाउन समेत वृक्षारोपण अनिवार्य आवश्यकता भएको भन्दै वृक्षारोपणले वातावरणको संरक्षणमा सघाउ पुर्‍याउनुका साथै गाउँको सौन्दर्यीकरण पनि बढाउने भएकाले आ–आफ्नो गाउँ टोलमा वृक्षारोपण गर्नुपर्ने बताउनुभयो । 

वृक्षारोपणका लागि वन तथा वातावरण मन्त्रालयबाट उपलब्ध हुन सक्ने हरेक सहयोग उपलब्ध गराउन आफू तयार रहेको पनि मन्त्री यादवले बताउनुभयो । 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षयतामा भएको वृक्षारोपण कार्यक्रममा आँप, गुल्मोर, निम गरी २ सय ५० थान बिरुवा रोपिएको थियो । 

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बीरगंज महानगरपालिका नगर क्षेत्रलाई हराभरा बनाउनका लागि वृक्षारोपणलाई प्राथमिकतामा राखेको र यसका लागि सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो । 

ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले वृक्षारोपणसँगै यसको संरक्षण महत्त्वपूर्ण रहेको बताउँदै गर्मीका कारण रोपिएका बिरुवाहरू मर्दै गएको हुँदा सिँचाइ तथा पानी पटाउन एक थान दमकल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

वृक्षारोपण कार्यक्रममा उपमेयर ईम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति भरतपुर चितवनका प्रमुख रामहरि पन्त, सशस्त्र प्रहरी उपशिक्षक तेज प्रसाद पोखरेल, प्रहरी नायव उपरिक्षक प्रहलाद कार्की लगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button