प्राकृतिक विपत्तिबाट विस्थापितहरुको स्थायी आवास पुनर्निर्माणको काम सुरु
सिन्धुपाल्चोक ।मनसुन जन्य प्राकृतिक विपत्तिबाट घरवारविहिन भएका सिन्धुपाल्चोकका विस्थापित नागरिकहरूको स्थायी आवास पुर्ननिर्माण प्रक्रिया सुरु भएको छ ।
हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिले घर गुमाएका १०४१ परिवार लाभग्राही कायम भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको तथ्याँङक अनुसार सबैभन्दा बढी लाभग्राही हेलम्बु गाउँपालिकामा कायम भएका छन् । गतबर्षको मेलम्ची बाढीबाट हेलम्बुमा मात्रै ३९२ घरपरिवार विस्थापित भएका थिए ।
लाभग्राही कायम भएका मध्ये हेलम्बुमा १८२, मेलम्ची नगरपालिका १५, बाह्रबिसे नगरपालिका ४०, भोटेकोशि गाउँपालिका १५, पाँचपोखरी थाङपाल गाउँपालिका र बलेफी गाउँपालिकामा २/२ गरी २५६ घर परिवारको आवास पुनर्निर्माणको सम्झौता सम्पन्न भई पहिलो किस्ता बापतको रकम निकासा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको भनाइ छ ।
प्राकृतिक विपत्तिबाट विस्थापित नागरिकहरूको स्थायी आवास पुर्ननिर्माण को काम सुरु भएपनि जोखिमयुक्त बस्ती स्थानान्तरणको कामले भने अझै गति लिन सकेको छैन । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा गत बर्ष याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावितहरूको स्थानान्तरणको प्रक्रिया सुरु भएपनि सुरक्षित स्थानमा जग्गाको व्यवस्थापन हुन नसक्दा कामले गति लिन नसकेको हो ।
गाउँपालिकाले याङ्ग्री, सुनचौर, माईखर्क, भाङ्च्युङ्ग र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढी प्रभावितहरूलाई त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुन निर्माण प्राधिकरणमा पहल गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्