तपाईँ सुन्दै हुनुहुन्छः

३२ वटा पकेटका कार्यक्रम सञ्चालन हुन सकेनन्

रुपन्देही । जनप्रतिनिधिले पकेटको क्षेत्र छनोट र कार्यक्रम सञ्चालन गर्दा आफ्ना कार्यकर्ता र धेरै मतदाता भएकालाई मात्र प्राथमिकता दिएकाले रुपन्देही र पश्चिम नवलपरासीमा छनौट भएका योजना कार्यान्वयन हुन सकेनन् । 

स्थानीय आवश्यकताभन्दा पनि दबाबमा परेका योजना कार्यान्वयन नभएकाले लक्ष्य प्राप्तिअनुसार कार्य सम्पादन हुन नसकेको कर्मचारीको गुनासो छ ।    

चालु आर्थिक वर्षमा रुपन्देही र नवलपरासी पश्चिमका स्थानीय तहले ३२ वटा पकेटका कार्यक्रम सञ्चालन गर्न सकेनन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले वि.सं. २०७३ सालदेखि पकेट, ब्लक, जोन र सुपर जोन कार्यक्रम सञ्चालन गरेका थिए । तीन वर्षयता पकेटका कार्यक्रम स्थानीय तहले सञ्चालन गर्दै आएका छन् । 

तरकारी, च्याउ, केरा, मौरी, खाद्यान्न, बाख्रा, भैँसी र माछा पालनतर्फ रुपन्देही र नवलपरासी पश्चिममा ९३ वटा पकेट सञ्चालन भएका थिए । जसमा रुपन्देहीमा १७ र नवलपरासी पश्चिममा १५ वटा पकेटका कार्यक्रम सञ्चालन हुन सकेनन् । अधिकांश स्थानीय तहले पशुपालनतर्फका पकेट सञ्चालन गर्न सकेनन् । कृषितर्फका पकेटको कार्य सम्पादन भने केही सुधारउन्मूख छ । 

रुपन्देहीको सैनामैना नगरपालिकाले मकै, मौरी र बाख्रा पालनका पकेट सञ्चालन गरेर सय प्रतिशत काम सम्पन्न गरेको छ भने नवलपरासीको सुस्ता गाउँपालिकाले पाँचवटा पकेटमा कुनै पनि सञ्चालन गर्न सकेन । एउटा पकेट दुई वर्षपछि सङ्ख्या र क्षेत्रफल बढाउँदै ब्लक, जोन र सुपर जोनमा स्तरबृद्धि हुनुपर्छ । तर, अधिकांश पकेटका कार्यक्रम ठाउँ ठाउँमा छरेर सञ्चालन गर्दा ब्लकमा रूपान्तरित हुन सकेका छैनन् । 

एउटा गाउँ अथवा जोडिएका कुनै गाउँ समावेश गरेर पकेट सञ्चालन गर्नुपर्छ । अधिकांश ठाउँमा कार्यविधि मिचेर कार्य सञ्चालन भइरहेको छ । प्राविधिकहरू कार्यक्रमबारे अनभिज्ञ हुनु र परियोजनाले पनि पकेटका कार्यक्रमलाई अपनत्व नदिँदा कमजोरी दोहोरिइरहेको छ । परियोजनाको उद्देश्य प्राप्तिका लागि पनि तालिमको खाँचो भएको कृषि तथा पशु प्राविधिकहरूले बताएका छन् । 

बिहीबार रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समीक्षा सार्वजनिक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । रुपन्देही जिल्लाका समन्वय प्रमुख उमाकान्त चपाईले योजनामा परेका कार्यक्रम पूरा गर्नका लागि समन्वय गर्न तयार भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button