तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविको प्रश्नपत्र हुबहु भएको स्वीकार, रद्द गरिएका परीक्षा साउन १ र ३ मा हुने 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयलाई पुनर्संरचना नगरेसम्म उच्च शिक्षामा गुणस्तर वृद्धि गर्न नसकिने बताउनुभएको छ । 

स्नातकोत्तर तहको प्रश्नपत्र दोहोरिएका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र दोहोर्‍याउने र हुबहु सार्ने शिक्षकलाई कारबाही गर्नुको विकल्प नभएको बताउनुभयो ।  

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको स्वीकार गर्नुभयो । 

त्रिविको प्रश्नपत्रसँग तीन महिना अगाडि लिइएको निजी कलेजको प्रश्नपत्र हुबहु मेल खाएपछि जेठ १८ गते मानविकी सङ्काय स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ विषयको स्थगित गरिएको परीक्षा साउन १ गते सञ्चालन गर्न लागेको पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति बास्कोटाले बताउनुभयो । 

उपकुलपति बास्कोटाले विश्वविद्यालयको प्रश्नपत्र बनाउने र निजी कलेजको प्रश्नपत्र बनाउने प्राध्यापक एउटै भएको पाइएकाले निजलाई ३ वर्षसम्म पढाउन नपाउने गरी कारबाही गरिएको बैठकलाई जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरुले प्रश्नपत्र बाहिरिनु र दोहोरिनुमा त्रिभुवन विश्वविद्यालयका माथिल्लो पदाधिकारीको समेत संलग्नता रहेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । 

सांसदहरू मीनबहादुर विश्वकर्मा, योगेश भट्टराई, गिरिराजमणि पोखरेल, नबिना लामा, सरिता न्यौपाने, तिलकबहादुर महत र मनकुमारी जिसीले  त्रिभुवन विश्वविद्यालयमा पढाउने प्राध्यापकहरूले निजी क्याम्पसहरूमा पढाउन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button