भानुभक्तको योगदान अतुलनीय: अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषिक उन्नयनमा पुर्याउनुभएको योगदान अतुलनीय भएको बताउनुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी कला साहित्य प्रतिष्ठानले एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले नेपाली भाषामा रामायणको अनुवाद गरेर भानुभक्तले विशेष गुण लगाएको बताउनुभयो ।
उहाँले ‘घाँसी’ कविता भानुभक्त आचार्यले लेखेको हो कि मोतीराम भट्टले लेखेको भन्नेमा थप अध्ययन आवश्यक रहेको पनि टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय संस्कृति विभागका प्रमुख रघुजी पन्तले नेपाली भाषिक एकीकरणका लागि अलग्गै अभियान सञ्चालन गर्नुपर्ने बेला भएको बताउनुभयो ।
कार्यक्रममा भाषाविद् प्रा. डा.जीवेन्द्रदेव गिरीले भानुभक्तको व्यक्तित्वबारे चर्चा गर्नुभयो ।
यस अवसरमा स्रष्टाहरू कोमल वली, केशव भट्टराई, देवु लुइँटेल ज्ञानु विद्रोही र रत्नावली शर्मा लगायतले भानुभक्तका रचना वाचन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्