तपाईँ सुन्दै हुनुहुन्छः

राजापाक्ष मालदिभ्सबाट बुधवार नै सिङ्गापुर जाने 

कोलम्बो । बुधवार नै प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । उनीहरूले श्रीलङ्काको सङ्कट समाधान गर्न वर्तमान सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन् । 

प्रधानमन्त्रीको कार्यालयमा सयौँको सङ्ख्यामा तैनाथ सशस्त्र सुरक्षा फौजसँग लामो समय झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलङ्कास्थित सम्वाददाताले पुष्टि गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पुगेका प्रदर्शनकारीले श्रीलङ्काको सङ्कटको कारण राजापाक्ष परिवार र उनको प्रशासन रहेको भन्दै आफूहरूले आन्दोलन गरेको र राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नु आफ्नो सफलता भएको बताएका छन् । 

यसैबीच, श्रीलङ्काको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ । प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् । 

राजापाक्ष मालदिभ्सबाट बुधवार नै सिङ्गापुर जाने 

श्रीलङ्काको वायुसेनाको विमानमार्फत माल्दिभ्स पुग्नुभएका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष बुधवार सिङ्गापुर जानुहुने उहाँ निकट स्रोतले जनाएको श्रीलङ्काको पत्रिका डेली मिररले जनाएको छ । उहाँ बुधवार बिहान राष्ट्रपतिको हैसियतमा रक्षा मन्त्रालयको स्वीकृतिमा श्रीलङ्काबाट माल्दिभ्सतर्फ जानुभएको थियो ।  

जुलाई ९ मा प्रदर्शनकारीको भीडले राजापाक्षको निवासमा आक्रमण गरेपछि देशमा नै लुकेर बसिरहेका उहाँले १३ जुलाईमा राजीनामा दिने घोषणा गर्नुभएको थियो । 

श्रीलङ्काले इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ र मुद्रास्फीति बढ्दै गएकोले स्वतन्त्रता पछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको चपेटामा परेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button