तपाईँ सुन्दै हुनुहुन्छः

सबैला नगरपालिकाको अघोषित कार्यालय सारियो, अनियमितताको छानविन हुने

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले जनकपुरधाममा घर भाडा लिएर अघोषित रुपमा कार्यालय सञ्चालन गर्दै आएकोमा वर्तमान नगरप्रमुखको आदेशमा आज देखि हटाउने काम भएको छ ।

सबैलाका नवनिर्वाचित मेयर कारीराम यादवको निर्देशनमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ बजरंगचोकस्थित सबैलाका तत्कालीन मेयर विजयशंकर साह र प्रशासकीय अधिकृत राजबाबु पुडासैनीले राखेको अघोषित कार्यालय खाली गरिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको डेराका लागि नगरपालिकाले मासिक १५ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको सो घरमा अघोषित रुपमा कार्यालय सञ्चालन हुँदै आएको थियो । नगरपालिकामा हुनुपर्ने महत्त्वपूर्ण कागजात, अभिलेख ठूलो मात्रामा यसै ठाउँमा पाइएकाले लेखा तथा जिन्सी फाटका कर्मचारीलाई जिम्मा लगाउने काम भएको मेयर यादवले जानकारी दिनु भयो ।

टिपर र ट्याक्टरको प्रयोग गरी सम्पूर्ण सरसामान नगरपालिका कार्यालय सबैलामा सारिएको छ । अघोषित कार्यालय खाली गराएर सबै कागजात, फर्निचर, प्रिन्टरलगायत सबै सामान मेयर यादवको निर्देशनमा नगरपालिका कार्यालय लगिएको छ । आर्थिक वर्ष २०७७।०७८ को महालेखा परीक्षण भएको नगरपालिकाको सबै फाइल यस अघोषित कार्यालयमा राखिएको पाइएको छ ।

सङ्घीयता आएपछि गाउँ गाउँमा सिंहदरबार स्थापना भनिए पनि धनुषाका कतिपय पालिकाका प्रमुख र प्रशासकीय अधिकृत मिलेर अघोषित रुपमा जनकपुरधाममा कोठा भाडा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।

मोटो कमिसनको सेटिङ गरेर गोप्य तरिकाबाट कागजात मिलाएर यस्तै अघोषित कार्यालयबाट कामकाजसहित चेक काटेर भुक्तानी दिने गरेको पाइन्छ । कार्यालयमा सेवाग्राही पुग्दा कागजात अभिलेखको कारण कर्मचारीले काममा आलटाल गर्ने प्रवृत्ति बढेको वेलामा नवनिर्वाचित मेयरको कदमको सर्वत्र प्रशंसा भइरहेको छ ।

सरकारी कागजात अवैध रुपमा बाहिर राख्ने र कार्यालयमा आएका सेवाग्राहीको काम नगरी सास्ती दिने गरेकाले थाहा पाएपछि जनकपरमा सञ्चालित अघोषित कार्यालय सारिएको मेयर यादवले बताउँदै यस विषयमा चाडै छानविन गर्ने बताउनु भयो । कार्यालयमा जिन्सीको अभिलेख पनि हराउने काम भएको पाइएकाले छानबिनपछि कारबाही हुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button