तपाईँ सुन्दै हुनुहुन्छः

पुर्चौडीमा इन्टरनेटका कारण कार्यालयका काममा असहजता

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र हाटमा टेलिफोन र इन्टरनेट सेवामा सहजता आउन सकेको छैन । अन्य बजारहरूको तुलनामा निकै विकसित हाट बजारमा फोन र इन्टरनेट सेवाको असहजताका कारण दुर्गम जस्तो भएको छ ।

फोन र इन्टरनेट सेवा सहज रूपले नचल्दा कार्यालयका कामकाज गर्न सकस भएको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुवरले बताउनुभयो । कार्यालयमा जडित शिखर कम्पनीको इन्टरनेट राम्ररी नचल्ने गरेको उहाँले बताउनुभयो । मोबाइलबाट हटस्पट खोलेर कामकाज चलाउनुपरेको उहाँको गुनासो छ ।

इन्टरनेटको समस्याका कारण नगरपालिकालाई आर्थिक कारोबार, पञ्जीकरणको काम गर्न समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले बताउनुभयो ।

हाट बजारका लागि सोलार पावरबाट टेलिकमको टावर सञ्चालन गरिएकाले समस्या हुने गरेको नेपाल टेलिकम शाखा कार्यालय बैतडीका कार्यालय प्रमुख विक्रम राम टमटाले बतउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button