तपाईँ सुन्दै हुनुहुन्छः

आफूलाई काठमाडौँको रैथानेको रुपमा व्यवहार गर्न नगरप्रमुख शाहको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय निर्वाचनमा स्थानीयहरूको भोटका कारण जितेको भन्दै आफूलाई पनि काठमाडौँको रैथानेको रुपमा व्यवहार गर्न आग्रह गर्नुभएको छ । उहाँले नेवार समुदायभित्रको बहुसङ्ख्यक रहेको ज्यापू जातिको संस्कृति समृद्ध र समुन्नत भएको समेत उल्लेख गर्नुभयो । 

कार्यक्रममा महानगरपालिकाका प्रमुख शाहले काठमाडौँ महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरूलाई सम्मान गर्नुभएको छ ।

ज्यापू संस्कृति विकास कोषद्वारा गुरु पूर्णिमाको उपलक्ष्यमा बुधवार क्षेत्रपाटीमा आयोजित कार्यक्रममा उहाँले नेवारी परम्पराअनुसार सगुनसहित फूलमाला, टीका र टोपी लगाइदिएर उहाँहरूको सम्मान गर्नुभएको हो ।

हालै सम्पन्न स्थानीय तहमा निर्वाचित काठमाडौँ महानगरपालिकाका प्रमुख शाहसहितका जनप्रतिनिधिहरूलाई पनि कोषले सम्मान गरेको थियो ।

कार्यक्रममा १९ औँ राष्ट्रिय ज्यापू दिवस र योमरी पुन्हि आयोजना गर्न परम्परागत ग्वफः नायपाचोया अध्यक्ष पञ्चनारायण महर्जनलाई दिवसको तयारीको लागि एक लाख रुपियाँको नगदसहित जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

यस्तै, कोषले परम्परागत बाजागाजा संरक्षण र मर्मतको लागि ६३ वटै टोललाई जनही दश हजार रुपियाँको दरले नगद अनुदान दिएको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिनुभयो ।

कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा ज्यापू महागुथिका अध्यक्ष राजभाइ जकःमिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button