अछामको मेल्लेखमा सौर्य ऊर्जाका लागि अध्ययन

अछाम । अछामको मेल्लेख गाउँपालिकामा सोलार बाट १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्न अध्ययन शुरु गरिएको छ ।
ऊर्जा उत्पादनका लागि आज एक टोलीद्वारा भौगोलिक स्थलगत अध्ययन तथा सर्वेक्षण कार्य गरिएको छ । गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद नेतृत्वको टोलीले मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटको मुसिरौन, बड्डासैन फुलचडाउनेमा रहेको स्थलको अवलोकन गरेको हो ।
सौर्य प्लान्टका लागि आवश्यक २५० रोपनी जग्गा त्यहाँका स्थानीयले उपलब्ध गराउने भएपछि भौगोलिक सर्वेक्षण गरेको पालिका अध्यक्ष साउँदले बताउनु भयो । मेल्लख गाउँपालिकाको समन्वय, सहकार्य र स्काई ब्लु टेक्नोलोजी नेटवर्क लिमिटेड नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सो परियोजनाको सर्वे कार्य समेत सुरु गरिएको छ । अनुगमन टोलीले आयोजनाका लागि उक्त ठाउँ उपयुक्त रहेको निष्कर्ष निकालेका छन् ।
टोलीमा स्काई नेपालका डाइरेक्टर सेलिना बस्नेत, बाजुरा बुढिगंगा नगरपालिका निवर्तमान मेयर दिपक विक्रम शाह, मेल्लेख गाउँपालिका वडा न. १ का वडा अध्यक्ष दिल बहादुर धामी, २ का अध्यक्ष कुशलराज बुढा, ४ का अध्यक्ष चन्द्रबहादुर साउद, नेकपा माओवादी केन्द्रका मेल्लेख इन्चार्ज भीम बहादुर बुढा (सुवास) लगायत इलेकट्रोनिक प्राविधिकहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्