तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा बालविवाह रोक्नका लागि विद्यालयबाट प्रयास, विद्यार्थीले बालविवाह नगर्ने प्रण  

जनकपुरधाम । बालविवाह नगर्ने र कसैले गर्न खोजे रोक्नका लागि प्रयास गर्ने प्रतिबद्धता जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले शपथ लिएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नंं १४ मा रहेको श्री माध्यमिक विद्यालयका छात्र छात्राहरूले आफूहरूले पनि बालविवाह गर्ने र समाजमा कसैले गरेको खण्डमा रोक्नका लागि प्रयास गर्ने प्रण गरेका छन् । 

लाइफ नेपालले विद्यालयमा आज आयोजना गरेको “बालविवाह विरुद्ध किशोर किशोरीहरूको शपथग्रहण समारोह” कार्यक्रममा सहभागी विद्यार्थीहरूले बालविवाह गर्दा विभिन्न प्रकारको शारीरिक, मानसिक तथा पारिवारिक हिंसा हुनुका साथै पठन पाठमा पनि समस्या आउने गरेकाले वाल विवाह हुन नहुनेमा आफूहरू राम्रोसँग बुझेको बताउनु भयो ।  

आफू मात्र होइन, घर परिवार, छरछिमेकमा पनि कसैको बालविवाह भएको खण्डमा वाल क्लब मार्फत आफूहरूले सक्दो प्रयास गर्ने विद्यार्थीहरूले बताएका छन् । प्रदेश सरकारले पनि बालविवाह रोक्नका लागि छोरी शिक्षा बिमा कार्यक्रम गरिरहेको छ । छोरी शिक्षा कार्यक्रम अन्तर्गत जन्मेका छोरीको निःशुल्क बिमा गर्ने काम गरिन्छ यसले पनि बालविवाहमा कमी आउने भएको छ ।  

कानूनले केटा तथा केटीलाई विवाह गर्नका लागि २० वर्षको उमेर तोकेपनि अहिले गाउँहरूमा बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाहबाट सबैभन्दा बढी पीडित छोरी मान्छे हुने गरेको छ । कार्यक्रममा संस्थाले छात्राहरूका लागि सहज किसिमले स्वचालित मेसिन मार्फत प्राप्त हुने सेनेटरी प्याड वितरण गर्ने मेसिन, वाल क्लबका छात्राहरूका लागि आवश्यक पर्ने सामाग्री सहितको बक्स तथा ४ हजार मास्क प्रदान गरिइएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाइफ नेपालले जनकपुरधाम उपमहानगरपालिकामा कामकाज थालेकोमा खुशी व्यक्त गर्दै वाल विवाह रोक्नका लागि गरेको प्रयासको सराहना गर्नु भयो । उहाँले बालविवाहका कारणले महिला हिंसा बढी हुने गरेको बताउँदै बालविवाह रोक्न सकेको खण्डमा धेरै प्रकारको हिंसा कम हुने बताउनु भयो । 

वडा नंं १४ का वडाध्यक्ष पुण्य प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक दिनेशचन्द्र झा, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष हरिलाल राउत सहितका वक्ताहरूले संस्थाले गरेको बालविवाह रोक्नका लागि कामकाजको सराहना गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button