फाप्लु अस्पतालमा अक्सिजन प्लान्ट जडान

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा पहिलो पटक अक्सिजन प्लान्ट जडान गरिएको छ । एक नं. प्रदेशको एक करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि अक्सिजनका लागि खाली सिलिण्डर बोकेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । उक्त प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिन्छ । एक पटकमा पाँच वटा सिलिण्डर तीन घण्टामा भरिने छ ।
पहिलो पटक अस्पतालमै अक्सिजन प्लान्ट तयार भएको छ, अब अक्सिजनको अभावमा कुनैपनि बिरामीले ज्यान गुमाउनु पर्दैन, जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले भन्नुभयो । विद्युत् आपूर्ति बन्द हुँदा समेत स्वचालित रुपमा बिरामीको बेडमानै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।
कोरोनाको समयमा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन सिलिन्डरको जोहो गर्नका लागि खेपेको सास्तीलाई सम्झँदै प्रमुख शेर्पा भन्नुहुन्छ, कोरोनाको समयमा अक्सिजनका लागि धेरै समय र रकम खर्च गरेर विराटनगरसम्म जानुपर्दथ्यो, त्यस समय सोलुदूधकुण्ड नगरपालिकाको सहयोग अतुलनीय छ । नगरपालिकाको सहयोगमा कोरोनाको समयमा अक्सिजनको अभाव नभएको उहाँले बताउनुभयो ।
कोभिड–१९ महामारी कम भएपनि दम तथा श्वासप्रश्वासका बिरामीलाई अक्सिजन आवश्यक पर्ने भएकाले आगामी दिनमा सहज हुने भएको छ । पछिल्लो समय जिल्लामा नसर्ने रोगमध्येको एक श्वासप्रश्वासका बिरामी बढ्दै गइरहेका बेला अक्सिजन दम तथा श्वासप्रश्वासका बिरामी तथा नियमित अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पनि यसले सहयोग पुर्याउने बताइएको छ ।
घरमै उपचार गरिरहेका दम तथा श्वासप्रश्वासका बिरामीहरूले पनि आफूसँग रहेको खाली सिलिन्डरमा अक्सिजन भरेर लैजान सक्नेछन् । यहाँ उत्पादित अक्सिजन जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूलाई पनि उपलब्ध गराउन सकिने प्रमुख शेर्पाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्