धनकुटाका चार जनाले पाए आमाको नामबाट वंशजको नागरिकता
धनकुटा । धनकुटाका चार जनाले आमाको नामबाट वंशजको नागरिकता पाउनुभएको छ । आमाको नामबाट नागरिकता पाउनेहरूमा जिल्लाको धनकुटा नगरपालिका वडा नं ७ कि तारा तामाङका छोराहरू नरेश तामाङ,गणेश तामाङ, ओम तामाङ र छथरजोरपाटी गाउँपालिका वडा नं ५ का दिलमाया लिम्बुकी छोरी सागर लिम्बुका पत्नी गौरी लिम्बू रहेका छन् । ताराका छोराहरूको नागरिकता बनाउन २०७८ चैत १० गते रिट निवेदन दिइएकोमा बुबाको राष्ट्रियता खुल्ने कुनै कागजात नभएकोले दरपिठ दिइएको थियो ।
सोही दरपीठको आधारमा उच्च अदालत विराटनगर धनकुटा इजलासमा उहाँहरूले आमाको नाम बाट नागरिकता पाउ भनी परमादेश माग गर्नुभएको थियो । उच्च अदालत विराटनगर धनकुटा इजलासले असार २३ गते आमाको नामबाट नागरिकता दिनु भन्ने परमादेश जारी गरेको थियो ।
परमादेशपछि उहाँहरूलाई असार २७ गते सोमबार जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आमाको नामबाट वंशजको नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिनु भयो । कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक हुनु पर्ने प्रमाणित खुल्ने व्यक्तिको वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धरा ११ उपधारा (ख) मा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्