हरवाचरवाको समस्या समाधान गर्न प्रतिबद्ध छौ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनु भएको छ ।
मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका लागि आज भएको सरोकारवाला मन्त्रालय र निकायहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि कार्ययोजना नै बनाएर अगाडी बढ्ने तयारी भइरहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले मन्त्रालयले विषयगत समितिको बैठकमा समेत मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल शुरु गरिसकेको भन्दै केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडि बढाइएको बताउनु भयो ।
हलीया र कमैया कमलरी मुक्त भइसकेको र कमैया श्रम (निषेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गरेर हरवाचरवाको समस्या समाधान गर्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत यस विषयलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्