तपाईँ सुन्दै हुनुहुन्छः

खुम्बु जोड्ने पुल निर्माणले लियो गति

सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु जाने स्थलमार्गमा पर्ने सोलूदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदुधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने मोटरेबल पुल निर्माण तीव्र गतिमा भइरहेको छ ।

गएको जेठको अन्तिममा शिलान्यास गरी निर्माण थालिएको पर्यटकीय मार्गमा पर्ने उक्त पक्की पुल महादेव खिम्ती हिराचन जेभीले सात करोड छ लाख ३३ हजार रुपियाँको लागतमा निर्माणको जिम्मा लिएको हो । 

५० मिटर लम्बाई र ११ मिटर चौडाइ रहेको पुल फ्रि स्ट्रेच प्रविधिबाट बन्ने पुलको एकापट्टिको पिलर तयार भइसकेको निर्माण कम्पनीका प्रतिनिधि बुद्धिबहादुर मगरले बताउनुभयो । रातमा समेत काम गरेर तीव्र गतिमा निर्माण भइरहेको र गुणस्तरीय काम गरी पुल समयमै निर्माण सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

सम्झौता केही समय अघि भए पनि निर्माण स्थलसम्म पुग्ने सडकमा यातायातका साधन चल्न नसकेका कारण सामान ढुवानी गर्न नपाउँदा निर्माण शुरु गर्न केही ढिला भए पनि अब फटाफट काम गर्ने उहाँको भनाइ छ ।

माप्य हुँदै खुम्बु जोड्ने सडकखण्ड भएकाले दूधकोशी नदीमाथि बन्ने यो मोटरेबल पुलले माथिल्लो सोलुको पर्यटन क्षेत्रमा धेरै सहयोग पुग्ने सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । खुम्बु जोड्ने छोटो मार्गको रुपमा यो सडक रहेकाले तोकिएको समयमा गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई मेयर शेर्पाले निर्देशन दिनुभयो ।

पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा सहज ढुवानी हुने भएकाले दैनिक उपभोग्य सामाग्रीहरूको मूल्य समेत सस्तिने स्थानीय बताउँछन् । यो पुल निर्माण पश्चात् सदरमुकाम आवतजावत गर्न तथा पर्यटकलाई खुम्बु जान स्थलमार्गबाट धेरै सहज हुने भन्दै खरिखोलाका भलाकाजी मगरले खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button