रत्ननगरका दुई सामुदायिक विद्यालयमा ई पुस्तकालय स्थापना

चितवन । रत्ननगरका दुई सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिएको छ ।
कोकोकला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडको सहयोगमा क्रियशन नेपाल काठमाडौँले वडा नं ६ मा रहेको बछौली मावि र वडा नं ८ मा रहेको मावि चित्रसारीमा इ–पुस्तकालय स्थापना गरेको हो ।
दुई वटै विद्यालयमा स्थापना गरिएको सो पुस्तकालयको सोमबार एकै दिन उद्घाटन गरिएको थियो ।
बछौली माविमा वडाध्यक्ष किरण महतो, क्रियशन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्र र नायिका तथा गुडवील एम्बेसडर केकी अधिकारी तथा मावि चित्रसारीमा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले संयुक्त उद्घाटन गर्नुभएको छ ।
पुस्तकालयमा कक्षा १ देखि १० सम्मको पाठ्यक्रमसहित ८ हजार ६०३ वटा पुस्तक, २ हजार ९९४ वटा अडियो किताब, २ हजार १२२ पठनीय भिडियो र ४ हजार ११५ जना लेखक रहेको क्रियशन नेपालकी सामुदायिक पहुँच अधिकृत राममाया श्रेष्ठले जानकारी दिनुभयो ।
ई–पुस्तकालयका अङ्ग्रेजी र नेपाल भाषामा लेखिएका पुस्तकहरू राखिएको छ । सूचना प्रविधिको विकाससँगै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पढ्ने बानीको विकास गर्न ई–पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याइएको श्रेष्ठको भनाई छ ।
सो पुस्तकालयबाट शिक्षक,विद्यार्थी र अभिभावक लाभान्वित हुने छन् । कार्यक्रममा क्रियशन नेपालका संस्थापक अध्यक्ष मिश्रले ई–पुस्तकालयको माध्यमबाट सामुदायिक विद्यालयका विद्यार्थीहरूको ज्ञान र सीप विकासका लागि पुस्तकालय सञ्चालन गरेको बताउनुभयो ।
“विद्यार्थीहरूले अहिले सामाजिक सञ्जाललाई स्कुल बनाएका छन्”, उहाँले भन्नुभयो, “अब भने दिनको एक घण्टा समय निकालेर इ पुस्तकालयमा रहेका पुस्तक पढ्नुपर्छ ।”
उहाँले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा राम्रो मात्र होइन उत्कृष्ट पुस्तकालय स्थापना गर्ने योजनाका साथ काम अगाडि बढेको बताउनुभयो ।
बोटलर्स नेपाल (तराई) लिमिटेडका विक्रम केसीले क्रियशन नेपाल सँगको सहकार्यमा पुस्तकालय स्थापना र वातावरण संरक्षणको क्षेत्रमा कार्यक्रम गरिएको बताउनुभयो । वातावरण संरक्षणको अभियान विद्यालय स्तरमा सञ्चालन गर्दा प्रभावकारी हुने उहाँको विश्वास छ ।
कार्यक्रममा नायिका अधिकारीले पुस्तकालयको महत्त्व र वातावरण संरक्षण गर्नुको उद्देश्यका बारेमा विद्यार्थीहरूलाई सहजीकरण गर्नुभएको थियो ।
चित्रसारीमा भएको कार्यक्रममा क्रियशन नेपालका गुडवील एम्बेसडर पराक्रम राणा, विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद लामिछाने,वडा सदस्य केदार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्