तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कूटनीतिज्ञको भूमिका महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कूटनीतिज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । 

सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासहरूले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । राजदूतहरूले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । 

पर्यटन विस्तारका लागि हवाई उडानको भूमिका महत्त्वपूर्ण हुने बताउनुहुँदै उहाँले सरकारले हवाई यातायात र विमानस्थलहरूलाई सुरक्षामैत्री बनाउने बताउनुभयो । नेपालको हवाई उडानलाई ईयूकाे सुरक्षा चासोको सूचीबाट हटाउन पहल गर्ने उहाँले बताउनुभयो । साथै उहाँले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको बताउनुहुँदै आफ्नो कार्यकालमा नयाँ प्रवेश बिन्दु खुला हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदूतहरूले नेपालको पर्यटन विस्तारका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button