चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित बिपी सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ ।
विदेश विभाग प्रमुख लिउले बिपी कोइरालाले लामो समय जेल जीवन बिताउनुभएको बिपी सङ्ग्रहालयको आज बिहान निरीक्षण गर्नुका साथै सङ्ग्रहालय परिसरमा वृक्ष रोपण गर्नुभयो ।

विदेश विभाग प्रमुख लिउले बिपी सङ्ग्रहालयको अभिरुचि पूर्व अवलोकन गर्नुभएको सङ्ग्रहालयका अध्यक्ष परर्शुराम पोखरेलले जानकारी दिनुभयो ।
त्यस अवसरमा उहाँले भूकम्पपछि सङ्ग्रहालयको पुनर्निर्माण, विगतदेखिको नेपाल चीन मित्रवत् सम्बन्ध र बिपी कोइरालाको योगदानको स्मरण गर्नुहुँदै सङ्ग्रहालयमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो ।

विदेश विभाग प्रमुख लिउले अध्ययनका क्रममा आफूले बिपी कोइरालालाई बुझेको भन्दा पनि सङ्ग्रहालयको अवलोकनले बिपी कोइरालालाई नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभयो ।
बिपी सङ्ग्रहालयका अध्यक्ष पोखरेलले सङ्ग्रहालयको समग्र पक्षका बारेमा चिनियाँ विदेश विभाग प्रमुख लिउलाई जानकारी गराउनुभएको थियो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्नुभएका प्रमुख लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
विदेश विभाग प्रमुख लिउको प्रतिनिधिमण्डल नेपालको चार दिने भ्रमण पुरा गरी पर्सि स्वदेश फर्कने छ ।







प्रतिक्रिया राख्नुहोस्