तपाईँ सुन्दै हुनुहुन्छः

नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने

काठमाडौँ । वाग्मती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ ।

सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।

नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा सङ्ग्रहालय स्थापना गर्न लागिएको हो । 

सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा सङ्ग्रहालय स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको सङ्ग्रह गरिने छ । सङ्ग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ । 

नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रो स्कोपलगायत सामग्री सङ्ग्रहालयमा राखिने सङ्घका अध्यक्ष डा.लोचन कार्कीले बताउनुभयो । स्वास्थ्य सम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ । केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको सङ्घले जनाएको छ ।रासस

नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, सङ्घका निर्णय पनि सङ्ग्रहालयमा राखिने जनाइएको छ । सङ्ग्रहालयले स्वास्थ्य पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ । 

प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रवद्र्धनका काम गरिरहेको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button