चट्याङबाट युवकको मृत्यु, ४७ भेडा पनि मरे
जुम्ला । जुम्लामा चट्याङ लागेर एक जना युवाको मृत्यु भएको छ । घटनामा ४७ वटा भेडा पनि मरेका छन् ।
चट्याङ लागेर तिला गाउँपालिका ९ मालापानीका १८ वर्षीय प्रेमबहादुर बुढाको मृत्यु भएको हो । घरबाट सिमी गोडमेल गर्न गएको र पानी परेको बेला रुखमुनि ओत लागेको अवस्थामा चट्याङ पर्दा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टले जानकारी दिनुभयो ।
त्यस्तै बुधवार बेलुका ५ बजेतिर जुम्लाको तातोपानी गाउँपालिका–८ को धर्मशालामा चट्याङ पर्दा ४७ वटा भेडा बाख्रा मरेका छन् । तातोपानी ८ को डैसिले लेकको धर्मशालामा परेको चट्याङले ४७ वटा भेडा बाख्रा मरेको र ३८ वटा घाइते भएको तातोपानी ८ का वडाअध्यक्ष नर बहादुर रावतले जानकारी दिनुभयो ।
किसानलाई क्षतिपूर्तिका लागि गाउँ कार्यपालिकाको बैठक बसेर निर्णय गरिने तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्