तपाईँ सुन्दै हुनुहुन्छः

माटो बचाउन दौड

धनकुटा । माटो जोगाऔँ अभियान लिएर अभियन्ता नविन पुन मगर धनकुटा आइपुग्नुभएको छ। जेठ ३० गते काठमाडौँदेखि माटो बचाउन दौड सुरु गर्नुभएका नविन करिब एक हजार किलोमिटर दौडेर धनकुटा आइपुग्नुभएको हो। उहाँले ३ हजार ५ सय किलोमिटर दौडेर ७ वटै प्रदेश पुग्ने लक्ष्य लिएको बताउनु भयो।

उहाँले माटोको उर्वराशक्ति जोगाउनका लागि देशव्यापी अभियान सुरु भएको बताउनुभयो । माटोमा जैविक मात्रा घट्दै गएकाले माटो बचाउनुपर्ने उहाँले बताउनुभयो । 

माटोको उत्पादन क्षमतामै ह्रास आएको र विषादीको प्रयोग बढ्दो गएका कारणले उत्पादकत्व बढाउन माटोको जैविकपन जोगाउन जरुरी रहेको उहाँको भनाइ छ । यही रफ्तारमा जैविक मात्रा घट्दै गए अबको २० देखि २५ वर्षमा खानका लागि मानिस–मानिसबीच युद्ध हुने उहाँको भनाइ छ । 

माटोमा रासायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्ने उहाँको सुझाव छ। सरकारले माटो जोगाउने नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने पुनको भनाइ छ । माटो जोगाउन सुरु भएको दौडलाई ७० दिनमा पुरा गरिने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button