तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ज्येष्ठ नागरिकको घर घरमा पुगी स्वास्थ्य चेकजाँच

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य चेकजाँच गर्न थालेको छ । 

स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा ज्येष्ठ नागरिक उपचारबाट वञ्चित भएको भन्दै गाउँपालिकाले घरमै पुगेर उपचार गर्ने व्यवस्था गरेको हो । 

अहिलेसम्म ८० वर्ष माथिका १ सय २४ ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको गाउँपालिकाले जनाएको छ । 

ज्येष्ठ नागरिक आफै उपचारका लागि बाहिर जान नसक्ने भएकाले ज्येष्ठ नागरिककै घर घरमा पुगेर उपचार सुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जानकारी दिनुभयो । 

भौगोलिक विकटता र हिँडडुल गर्न नसक्ने नागरिकलाई सहज होस भनेर घर घरमै पुगेको उपचार दिइएको उहाँले बताउनुभयो । वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खटाएर उपचार गरिरहेको उहाँको भनाई छ । 

उपचारका क्रममा सबैभन्दा बढी रक्तचाप, मधुमेह, दम, बाथ, पेट दुख्ने समस्या देखिएको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकलाई निःशुल्क औषधी समेत दिने गरेको छ । 

घरमै उपचार पाउँदा आफूहरूजस्ता र्दीघरोगीहरुलाई धेरै सजिलो भएको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराका ज्येष्ठ नागरिक नन्द बहादुर पुनले बताउनुभयो । “उपचारकै लागि बाहिर जान सकिँदैन”, उहाँले भन्नुभयो “अहिले घरमै उपचार र औषधी पाइरहेका छौँ ।”  

प्रतिक्रिया राख्नुहोस्

Back to top button