‘संविधानको रक्षा तथा सङ्घीयताको कार्यान्वयन गर्न प्रहरी समायोजन छिटो हुनुपर्दछ’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संविधानको पूर्ण कार्यान्वयन गर्नका लागि सबै प्रदेशबाट संघीय सरकारमा दबाब सृजना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
उहाँले मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा आजदेखि जनकपुरधाममा सुरु भएको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी सातै प्रदेशको आन्तरिक मामिला मन्त्रीहरूको सहभागितामा भएको अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले प्रहरी ऐनको छिटोभन्दा छिटो कार्यान्वयन गराउनका लागि सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले केन्द्रीय नेतृत्वमा दबाब सृजना गर्नका लागि खुलेर कुरा गर्न एवं आवश्यक परेर दबाब दिनका लागि आग्रह गर्नुभयो ।
उहाँले संविधानले प्रदान गरेको अधिकारहरू पनि संघीय सरकारले दिन नचाहेर प्रदेश सरकारहरूलाई विकासको युनिटको रुपमा राख्ने शोचको कडा रुपमा विरोध गर्दै संविधानको कार्यान्वयन तथा रक्षा गर्नका लागि सम्मेलन महत्त्वपूर्ण हुने बताउनुभयो ।
मुख्यमन्त्री राउतले प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकलाई प्रदेश सरकार मातहत रहने गरी ऐन बनाएको खण्डमा आफूहरूले स्वीकार गर्ने बताउँदै प्रदेश सरकारको निर्माण संविधान संघीय सरकार जस्तै समान प्रक्रियाले भएकाले यसलाई कमजोर बनाउने कार्य अब स्वीकार नहुने बताउनुभयो ।
मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले प्रदेशका जनतालाई शान्ति सुरक्षा एवं सुशासनको अनुभूति गराउनका लागि प्रहरीको समायोजन आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सङ्घीयता तथा संविधानको कार्यान्वयनका लागि प्रहरी समायोजन अविलम्ब रुपमा हुनुपर्ने धारणा राख्दै चुरेको संरक्षण नभए देशकै भविष्य खतरामा पर्ने बताउनुभयो ।
मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले प्रदेशको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनका सम्बन्धमा राम्रो सूचनाको आदान प्रदान हुने बताउनुभयो ।
सभापतिको आसनबाट बोल्दै मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संविधान तथा सङ्घीयताको कार्यान्वयन गराउनका लागि जति सक्दो चाँडो प्रहरी समायोजन गराउन आवश्यक भएको यसका लागि जे गर्नु परे पनि गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्