तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

यस्तै, बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरेको छ ।

बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

यसअघि, त्यसमाथि भएको छलफलमा सांसदहरुले सबै नागरिकले स्वच्छ खानेपानी पाउनु उनीहरूको अधिकार भएकाले सरकारले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै नागरिक सम्म स्वच्छ खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउनकै लागि विधेयक ल्याइएको बताउनुभयो ।

यस्तै, बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृह मन्त्री बालकृष्ण खाणले मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले देशका विभिन्न समस्या तथा समसामयिक विषयहरूमा सरकारको ध्यानाकृष्ट गराउनुभएको छ । 

बैठकमा सांसदहरुले जलवायु परिवर्तन न्युनिकरण तथा अनुकुलनका कार्यक्रमहरूलाई प्रभावकारी बनाउनु पर्ने, बाढी पहिरो प्रभावितहरूको उद्धार तथा राहतको व्यवस्था, कृषकलाई मल उपलब्ध गराउनुपर्ने, वर्षाको समयमा निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड, बुटवल पाल्पा सडकखण्डमा यात्रुहरूले निकै सास्ती भोग्नु परेकोमा सरकारको ध्यानाकृष्ट गराउनुभयो । 

सांसदहरुले निर्माण सम्पन्न गरिसक्ने समय आइसक्दा पनि नारायणगढ बुटवल सडक खण्डको निर्माण कार्य १९ प्रतिशत मात्र सम्पन्न भएकोमा यो गतिले निर्माण हुँदा जनताले निकै दुख पाउने हुँदा यस कामलाई तीव्रता दिन सरकारको ध्यानाकृष्ट गराउनुभयो ।  

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो २ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button