तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/२०७८ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले देशका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकृष्ट गराउनुभएको छ । 

बैठकमा सांसदहरुले जलवायु परिवर्तन न्युनिकरण तथा अनुकुलनका कार्यक्रमहरूलाई प्रभावकारी बनाउनु पर्ने, बाढि पहिरो प्रभावितहरूको उद्धार तथा राहतको व्यवस्था, कृषकलाई मल उपलब्ध गराउनु पर्ने, वर्षाको समयमा निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड, बुटवल पाल्पा सडकखण्डमा यात्रुहरूले निकै सास्ती भोग्नु परेकोमा सरकारको ध्यानाकृष्ट गराउनुभयो । 

सांसदहरुले निर्माण सम्पन्न गरिसक्ने समय आइसक्दा पनि नारायणगढ बुटवल सडक खण्डको निर्माण कार्य १९ प्रतिशत मात्र सम्पन्न भएकोमा यो गतिले निर्माण हुँदा जनताले निकै दुख पाउने हुँदा यस कामलाई तीव्रता दिन सरकारको ध्यानाकृष्ट गराउनुभयो ।  

अहिले प्रतिनिधिसभाको बैठक जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button