निस्दी रनगुवामा पहिलो पटक बिजुली बल्यो

पाल्पा । बिद्युतको केन्द्रिय प्रसारण लाइनको पहुँच भन्दा बाहिर रहेको निस्दी गाउँपालिका वडा नम्बर–६ अर्चले, रनगुवामा पहिलो पटक बिजुली बत्ती बलेको छ ।
विगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीको रनगुवा गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीय खुशी भएका छन् । सामुदायिक बिद्युतका लागि पैसा बुझाएको धेरै वर्ष हुँदा समेत बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने उत्साहित भएका हुन् ।
साबिक अर्चले गाउँ विकास समितिको अन्य वडाहरूमा यसअघि बिजुली बत्ती उपभोग गरेपनि यो वडा छुटेको थियो ।जम्मा ३७ घरपरिवार रहेको उक्त ठाउँको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मुख्य पाहुना गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत,साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो । स्थानीय बासिन्दाको एकता भएमा विकासका काममा सफलता मिल्ने भन्दै आफूले सधैँ सकारात्मक सुझावको अपेक्षा राखेको बताउनुभयो ।
वडा नम्बर–६,अर्चलेका वडाध्यक्ष तथा पालिका प्रवक्ता मेख बहादुर सुनारीले निस्दीमा बिजुली बत्तीको बिस्तारमा भएको ढिलाइ बारे सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गरेको भन्दै ठेकेदारलाई जिम्मेवार बनाउन सबैको खबरदारी हुनुपर्ने बताउनुभयो ।
बिजुली बत्ती आएपछि विद्यार्थीहरूलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने स्थानीय शिक्षक हेम बहादुर बयम्बुले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्