सबै नपाली नागरिकले नागरिकता पाउने गरी नयाँ ढङ्गले विधेयक अगाडि बढ्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सबै नपाली नागरिकले नागरिकता पाउने गरी नागरिकता विधेयकलाई नयाँ ढङ्गले अगाडि बढाउन सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताउनुभएको छ ।
असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री कार्कीले कतिपय नेपाली नागरिकका छोरा छोरीले नागरिकता प्राप्त गर्न नसकेको अवस्थाका कारण पीडामा रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गरेर नयाँ ढङ्गले अगाडि बढ्न सरकारले नागरिकता विधेयक फिर्ता लिएको स्पष्ट पार्नुभयो ।
सञ्चार मन्त्री कार्कीले नेपाली बुवा आमाका नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले अव संसदमा पेश भई पारित हुने विधेयकबाट नागरिकता प्राप्त गर्ने बाटो खुला हुने पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा सञ्चारमन्त्री कार्कीले सरकारले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सञ्चारमन्त्री कार्कीले मन्त्रीपरिषद् बैठकले विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गर्नुसँगै विभिन्न वैदेशिक सहायताहरू स्वीकार गर्ने निर्णय गरेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्