तपाईँ सुन्दै हुनुहुन्छः

पानी ट्याङ्कीमा जथाभाबी नगर्न चरिकोट खानेपानी उपभोक्ता समितिको अपिल 

दोलखा । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सार्वजनिक अपिल जारी गर्दै विगत ३० बर्ष देखि १५ सय भन्दा बढी उपभोक्ताहरूले उपभोग गर्दै आएको समितिको स्वामित्वमा रहेको मुहानहरू अन्य कसैलाई हस्तान्तरण गर्न नसकिने जनाएको छ । 

समितिका अध्यक्ष बद्रीकुमार श्रेष्ठले जारी गर्नु भएको अपिलमा भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको समितिको फिल्टर ट्याङ्कीमा केही दिन अघि ताला तोडेर कब्जा गर्ने नियतले चरिकोट शहरी आयोजनाको निर्माण कम्पनीका व्यक्तिहरूले समितिसँग कुनै सरोकार नै नगरी जर्वजस्ती मर्मतको काम थालिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

अपिलमा समितिको स्वामित्वमा सुष्पा क्षेत्र र चर्नावती क्षेत्र भित्रका १० वटा मुहानबाट ल्याइएको पानी पाँच वटा ट्याङ्की मार्फत भीमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ६ को १५ सय घर धुरीमा वितरण भइरहेको र आम उपभोक्ताहरूको आग्रह अनुसार नै आवश्यक मर्मत सम्भार सहित व्यवस्थित पानी वितरण हुँदै आएकोले चरिकोट शहरी आयोजनाले एकाधिकार जमाउने उद्देश्यले अन्यथा नगर्न सचेत समेत गरिएको छ । 

अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित अपिलमा समिति अन्तर्गत खानेपानी उपभोग गर्दै आउनु भएका आठ सय १५ जना उपभोक्ताहरूले लिखित रुपमा समिति अन्त्रगतका मुहानहरू आफैले संरक्षण गरी व्यवस्थित रुपमा वितरण गर्न लिखित आग्रह समेत गरेको स्मरण गर्दै समितिको स्वामित्वमा रहेको र ३० औ वर्षदेखि उपभोग गर्दै आएको मुहान अनुमति विना जथाभाबी प्रयोग गरेको पाइए त्यसले राम्रो सन्देश नजाने र अवस्था अन्यथा हुनसक्ने प्रति सचेत गर्दै त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरिएको छ । 

समितिको आग्रह र अपिलको व्यवास्ता गर्दै समिति अन्त्रगतको मुहान, ट्याङ्की र फिल्टर ट्याङ्कीमा कब्जा जमाउने प्रयत्न भए त्यसको परिणामको ठिक नहुने र त्यसको जिम्मेवारी चरिकोट शहरी आयोजनाले नै लिनु पर्ने अपिलमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button