तपाईँ सुन्दै हुनुहुन्छः

रक्त क्यान्सर पीडित शिशिरको जीवन रक्षाका लागि सहयोग गर्न परिवारको अपिल

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वाड नं १० का शिशिर पङ्गेनीलाई रक्त क्यान्सर भएपछि उपचारमा आर्थिक अभाव भएको छ । वालिङ १० का रामु पङ्गेनीका १८ वर्षीय छोरा शिशिरलाई रक्त क्यान्सर भएपछि अहिले शिशिर उपचाररत अवस्थामा रहनुभएको छ । शिशिरको सिभिल अस्पताल मिनभवन काठमाडौँमा विगत एक महिनादेखि उपचार भइरहेको परिवारले जनाएका छन् ।

उच्च शिक्षाका लागि आफ्नै मामासँग पोखरामा अध्ययन गरिरहेका शिशिरलाई दाँतबाट रक्तस्राव भएपछि पोखरामा जाँच गर्दा क्यान्सर देखा परेको थियो । क्यान्सर पुष्टि भएपछि शिशिरलाई उपचारको लागि सिभिल अस्पताल काठमाडौँ लगिएको उहाँका मामा खेम अर्यालले जानकारी दिनुभयो ।

सिभिल अस्पतालले रक्त क्यान्सर पुष्टि गरेपछि उहाँको बोनम्यारो प्रत्यारोपणका लागि परिवारलाई रकम जुटाउन भनेपछि परिवारलाई थप चिन्ताले सताएको छ । शिशिरका बुवा आमा यतिवेला छोराको बोनम्यारो प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएपछि आफन्त र सहयोगी समक्ष सहयोग मागेका छन् । लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र शिशिरको उपचारको लागि ४० देखि ५० लाख सम्म खर्च हुने भएपछि उहाँका परिवारले सबैसँग सहयोगको लागि अपिल गरेका हुन् ।

शिशिरका परिवार वालिङका सामान्य परिवार हुन् । उहाँका बाबु आमा खेती किसान गर्ने कृषक हुनुहुन्छ । छोराको उपचारका लागि आफूसँग भएको र आफन्तहरुसंग ऋण सहयोग मागेर १० लाख उपचारमा खर्च भइसकेको आमा सीता पङ्गेनीले बताउनुभयो । ‘छोराको उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि देश तथा विदेशमा सहयोगी सङ्घ संस्था र व्यक्तिसँग आग्रह गरेकी छु, । सबैले सहयोग गरे छोराको ज्यान बच्ने आशामा छु ।’ आमा सीताले भन्नुभयो ।

शिशिरको उपचारको लागि खर्च जुटाउन उहाँकै नाममा मुक्तिनाथ विकास बैङ्कमा खाता खोलिएको छ । उहाँका आफन्त र परिवारले यतिवेला शिशिरलाई उपचारमा सहयोग माग्न सुरु गरेका छन् । मुक्तिनाथ विकास बैङ्कको खाता नं ०४८२२३००९०३४२४०००००१ मा आर्थिक सहयोग गरी शिशिर पङ्गेनीलाई बचाउन परिवारले अपिल गरेका छन् । शिशिरको उपचारका लागी विदेशमा रहेका युवाहरूले पनि आर्थिक सङ्कलन  अभियान शुरु गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button