१४ सय बढी उद्योग नियमित रुपमा विद्युत् आपूर्ति नहुँदा सङ्कटमा
वीरगञ्ज । वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका झण्डै १४ सय भन्दा बढी उद्योग कलकारखाना नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा सङ्कटमा परेका छन् ।
दैनिक दैनिक जसो दर्जनौँ पटक पटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसाय मात्र होइन सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् ।

प्राधिकरणको बारा, पर्सास्थित वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण बारा पर्सा वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले काठमाडौँ नै पुगेर ऊर्जा मन्त्री पम्फा भुसाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरी उत्पन्न समस्याका बारेमा अवगत गराएका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले प्राधिकरणको विद्युत् कटौतीका कारण उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।
डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उहाँले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो ।
कतिपय उद्योगमा बीचबीचमा विद्युत् जाने समस्याले कच्चा पदार्थ समेत नष्ट हुने गरेको अध्यक्ष डा.गुप्ताले जानकारी दिनुभयो ।
आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैङ्क किस्ता र ब्याज बुझाउन समेत कठिन अवस्था आएको उहाँले बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाले प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो गर्नुभयो ।
यस्तै अवस्था रहेमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहने केडियाको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्