तपाईँ सुन्दै हुनुहुन्छः

ढल्केवरमा ट्रमा सेन्टर बन्ने प्रक्रिया अघि बढ्यो 

बर्दिबास । धनुषाको ढल्केवरमा ट्रमा सेन्टर बन्ने प्रक्रिया अघि बढेको छ । 

प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गर्ने कार्य सुरु भएको छ । 

संघीय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको थियो सोही अनुरूप साबिकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ (हाल मिथिला नगरपालिका–७) को चार विघा क्षेत्रफलमा माटो परीक्षण कार्य सुरु भएको छ । 

शनिवार प्रस्तावित उक्त जग्गाको माटो परीक्षणको काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका सब इन्जिनियर सुनिल ठाकुरले जानकारी दिनुभयो । आइतबारसम्म माटो परीक्षणको कार्य सम्पन्न भइसक्ने उहाँले बताउनुभयो । 

शनिवार माटो परीक्षण सुरु गरिएको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो समेत पुग्नुभएको थियो । मेयर महतोले सोही जग्गामा ट्रमा सेन्टर निर्माण हुने ठोकुवा गर्नुभयो । 

उपयुक्त जग्गालाई पनि अनावश्यक बखेडा झिकेर विवादित बनाउन मात्रै खोज्नेको मनसाय कुनै पनि हालतमा सफल नहुने मेयर महतोले बताउनुभयो । 

मेयर महतो केही दिनअघि मात्रै ढल्केवरमा ट्रमा सेन्टर र १५ शय्याको अस्पतालको पहलका लागि काठमाडौँ पुग्नुभएको थियो । ढल्केवरमा बन्ने ट्रमा सेन्टर मिथिला नगरपालिकाको गौरवशाली योजना भएको भन्दै फास्ट ट्र्याकमा त्यस योजनाको प्रक्रिया अघि बढाउन मन्त्रालयका मन्त्री र मातहतका सचिवलगायतलाई आग्रह गरेको मेयर महतोले बताउनुभयो ।

यसअघि, जग्गा विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गालाई तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेर उपयुक्त रहेको बताएपछि विवाद साम्य भएको थियो ।

गत चैत्र १७ गते आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर तत्कालीन सहरी विकासमन्त्री झाँक्री जग्गा निरीक्षण गर्न ढल्केवर आउनुभएको थियो । 

तत्कालीन मन्त्री झाँक्रीसँगै ढल्केवर आएका सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले अहिलेसम्मको अध्ययन अनुसार ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताउनुभएको थियो । उहाँले पनि यसै जग्गामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढ्ने विश्वास दिलाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button