तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी जागिरमा महिला सहभागिता गराउन लोकसेवा आयोगको तयारी गराइँदै

जनकपुरधाम । लोक सेवाको परीक्षामा मधेशका महिलाहरूको सहभागिता न्यून रहेको बेला मधेश सरकारले प्रदेशका ४ सय महिलाहरूलाई लोक सेवा आयोगको परीक्षाको तयारी गराइरहेको छ ।

मुख्यमन्त्री “बेटी पढाऊ बेटी बचाउ” कार्यक्रम अन्तर्गत सञ्चालित लोकसेवा आयोगको तयारी कक्षामा प्रदेश भरिमा खरिदार र नायव सुब्बाको गरी ४ सय महिलालाई प्रशिक्षण दिने काम भइरहेको छ ।

मधेश सरकारको महत्त्वाकाङ्क्षी योजना अनुरूप सञ्चालित लोकसेवा आयोगको कक्षामा प्रत्येक जिल्लामा २५ जना खरिदार र २५ जना नायव सुब्बाको तयारी कक्षामा सहभागी भएका छन् ।

आर्थिक वर्षको अन्तिममा आएर जेठ १९ गतेदेखि सुरु भएको लोकसेवा आयोगको तयारी कक्षा सप्तरीको भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप संस्कृत नमूना मावि जनकपुरधाम, महोत्तरीको विणा विद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलंगवा, रौतहटको गौरीशङ्कर यादव रौतहट क्याम्पस गौर, बाराको पन्नादेवी कन्या मावि कलैया र पर्साको सुन्दर मल्ल रामकुमार कन्या मावि वीरगन्जमा कक्षा सञ्चालन भइरहेको छ ।

लोकसेवा आयोगको तयारी कक्षाले लोकसेवाको परीक्षामा सहभागी हुने विद्यार्थीहरूको मनोबल उच्च पार्नुका साथै परीक्षामा सफलता प्राप्त गर्नका लागि सटिक तयारी गराउने काम भइरहेको दाबी गरिएको छ ।

मधेश प्रदेश सरकारले प्रदेश लोकसेवामा ५० प्रतिशत महिलाहरूका लागि गरेको आरक्षणमा योग्य महिलाहरू प्रवेश गराउन लोकसेवा आयोगको तयारी कक्षा कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस अघि मधेश सरकारले आव २०७५/७६मा १०० जना, आव ०७६/७७ मा ३५० जना महिलाहरूलाई लोकसेवा आयोगको तयारी कक्षा गराइसकेको भए पनि अपेक्षा अनुसारको महिला सहभागिता बढ्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button