अविरल वर्षका कारण निजगढको जनजीवन प्रभावित

बारा । बारामा अविरल वर्षका कारण निजगढको जनजीवन प्रभावित बनेको छ । लगातार वर्षाको पानीले ईलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको शहिद चोक क्षेत्र प्रभावित बनाएको छ ।
निजगढका घर, पसल र कार्यालयहरू डुबानमा परेका छन् । बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाँडाकुँडा बगाएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिनुभयो ।
बाढी र डुबानले मेस सञ्चालन गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीहरूलाई निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जानकारी दिनुभयो । कार्यालयको मूल गेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरूले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर पछाडिपट्टिबाट पसेको बाढीले चौकीको मेस डुबानमा पारेको र सामग्रीहरु बगाएको छ ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोली पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गर्नुभएको थियो ।
मङ्गलवार रातिदेखि लगातार परेको पानीपछि आएको भल पानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालयहरू डुबानमा परेका हुन । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौँ घर डुबानमा परेका छन् । बाढीका कारण शहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्